
सोमवार , मंसिर २०, २०७८
बुटवल, २० मंसिर ।
विद्यालयस्तरमा अध्ययरत युवालाई लक्षित गर्दै रोटरी क्लब अफ बुटवल डाउनटाउनको आयोजना तथा रोट्रयाक्ट क्लब अफ रामापिथेकस, रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउन, रोट्रयाक्ट क्लब अफ बुटवल सिर्नजीको सहयोगमा बुटवलमा एकदिने सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषधविरुद्ध सचेतना कार्यक्रम गरिएको छ ।
कार्यक्रमको क्लबका संस्थापक सदस्य ऋषि भण्डारीले उद्घाटन गर्दै देशका कर्णधार युवा वर्गलाई सही दिने निर्देश आजको आवश्यकता भएको बताए । युवाहरुलाई विषयगत ज्ञान दिएर रचनात्मक काममा लगाउनुपर्ने उनले बताए ।
एभरेष्ट माविको कक्षा ११ मा अध्ययरत २ सय बढी विद्यार्थीहरुलाई लागुऔषध के हो ? यसबाट कसरी बच्ने तथा सवारी दुर्घटनाको अवस्था र न्यूनीकरणबारे लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक मधु नेपाल र प्रहरी निरीक्षक गणेश ज्ञवालीले सहजीकरण गरेका थिए । लागुऔषध असर, यसले व्यक्ति र समाजलाई पार्ने प्रभाव साथै सवारी दुर्घटना, ट्राफिक नियमहरुको पालना बारेमा समेत विस्तृत प्रस्तुति गरिएको थियो ।
देशमै सर्वाधिक दुर्घटना दुईपांग्रे सवारीबाट हुने गरेको प्रहरी निरीक्षक मधु नेपालले बताए । त्यसै गरी घाइते र मृत्युको दर हेर्दा पनि कुल दुर्घटनाको ७० प्रतिशत दुईपांग्रे सवारीले ओगट्ने उनको दावी छ । प्रवेशिका उत्र्तीण गरेर कक्षा ११ मा भर्ना भएसंगै उनीहरुको संगत नयाँ साथीभाईसंग हुन्छ भने उनीहरुको अभिभावकसंग दुईपाग्रे सवारीको माग हुन्छ । ‘लहलहैमा लागेर उनीहरु समस्यामा परेको पत्तो नै पाउँदैनन ।’– उनले भने ।
क्लबका अध्यक्ष जबिन कक्षपतिले समयमा नै युवा वर्गलाई सचेत गराउन सके समस्यामा फस्नबाट बचाउन सकिने भन्दै क्लबबाट कार्यक्रम गरिएको बताए । युवा वर्गलाई नेतृत्व विकास, खेल र सामाजिक बनाउनेतर्फ विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।
विद्यालयका उपप्राचार्य भिमसेन गौतम, क्लबका पुर्वअध्यक्ष रवि पोख्रेल, पिताम्बर ज्ञवाली, बोर्ड सदस्यहरु विमल श्रेष्ठ, डि.बी. रायमाझी, रोट्रयाक्ट क्लब अफ रामापिथेकसका अध्यक्ष विजय कार्की, कार्यक्रम संयोजक तुल्सी घिमिरेले सानासाना सचेतनाबाट ठुलो दुर्घटना रोक्न सकिने भन्दै क्लबको अगुवाइमा यस्ता कार्यक्रमलाई विशेष ध्यान दिएर अघि बढाउने गरेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij