२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

भैरहवाको बुद्धचोक र देवकोटाचोकमा ‘ट्राफिक लाइट’ जडान

आइतवार , मंसिर १९, २०७८

भैरहवा, १९ मंसिर ।
सवारी आवागमन बढी हुने भैरहवाको मुख्य स्थान बुद्धचोक र देवकोटाचोकमा ‘ट्राफिक लाइट’ जडान गरिएको छ । सिद्धार्थनगर नगरपालिकाद्वारा जडान गरिएको ‘ट्राफिक लाइट’ आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले उक्त लाइटको उद्घाटन गरे ।

ट्राफिक लाइट अनुशासनको पाटो भएको र धेरै सवारीसाधनको आवातजावत हुने भैरहवाको बुद्धचोक र देवकोटाचोकमा लाइट जडान गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए । उनले भैरहवाका लागि नयाँ यो विषय भएकाले यसको कार्यान्यवनको सुरुवाती चरणमा केही समस्या हुन सक्ने बताए । ‘हुन त तिलोत्तमामा ट्राफिक लाइट जडान भइसकेको छ, तर हाम्रा लागि नयाँ विषय हो, सुरुमा हुने समस्या सुधारका लागि सुझाव लिएर अगाडी बढनेछौं,’उनले भने ।

सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन अर्यालले करिब ४१ लाखको लगानीमा बुद्धचोक र देवकोटाचोकमा ट्राफिक लाइट जडान गरिएको बताए । उनले बुद्धचोकको सडक फराकिलो हुनुका साथै लुम्बिनी, बेलहिया र बुटवल जाने चोकमा सवारी दुर्घटनालाई न्यूनीकरण गर्न लाइटले मद्दत पुग्ने बताए । ‘ट्राफिक लाइटले टाफिक व्यवस्थापनमा सहयोग पुग्छ, ’उनले भने ।

IMG_7862.JPG

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव के.सी.ले ट्राफिक लाइटले दुर्घटना न्यूनीकरण गर्नुका साथै पैदलयात्रीलाई बाटो क्रस गर्दा लेनको पालना गराउन सहयोग पुग्ने बताए । यसले दुर्घटना न्यूनीकरणसंगसंगै मानिसलाई अनुशासनमा राख्ने काम गर्ने उनले बताए । उनले भने, ‘जब बजार क्षेत्र बढ्दै जान्छ, सवारीको चाप बढ्दै जान्छ र यसले सवारी दुर्घटना हुने सम्भावना अत्यन्त हुन्छ, ट्राफिक लाइटले के गर्छ भने टाफिक व्यवस्थापनलाई स्वचालित बनाउँछ, यो उत्कृष्ट माध्यम हो भन्ने विश्वमै देखिएको छ, ’उनले भने ।

सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ अधिकृत विवेक खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।