२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

मणिमुकुन्द कलेका विद्यार्थीद्वारा विपन्नलाई सहयोग

शनिवार , मंसिर १८, २०७८

बुटवल, १८ मंसिर । 
रुपन्देहीको योगिकुटिमा रहेको मणिमुकुन्द कलेजका विद्यार्थीहरुले शनिबार वृद्धवृद्धा, विपन्न परिवार, अपांगता भएका व्यक्ति र बालबालिकालाई विभिन्न सहयोग गरेका छन । मणिमुकुन्द स्टुडण्ड कोअपरेटिभ काउन्सिल र मणिमुकुन्द एपियरी साइन्स सोसाइटीको आयोजनामा खाद्यान्न, लत्ताकपडा तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो । 

कलेजका विद्यार्थीहरु तथा प्राध्यापकहरुबाट आर्थिक संकलन गरी विद्यार्थीहरुले सिद्धबाबा दुर्गा भवानी शिवकुमारी शैँजु वृद्धाश्रमका रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न र जाडोका लत्ताकपडा प्रदान गरेका छन । 

वृद्धाश्रममा आयोजित कार्यक्रममा प्रमुख अतिथि मणिमुकुन्द कलेजका क्याम्पस प्रमुख टुक बहादुर क्षेत्रीले विद्यार्थीहरुको सामाजिक कामको प्रशंसा गर्दै वृद्धाश्रममा आश्रय लिइरहेका वृद्धवृद्धाहरुलाई स्वस्थ जीवनका लागि शारीरिक रुपमा सक्रिय रहन आग्रह गरे ।

एम.एस.सी.सी. र एम. ए. एस.एस.का अध्यक्षद्धय शिशिर ज्ञवाली र अनमोल श्रीसको अध्यक्षता, क्याम्पस प्रमुख टुक बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता तथा विद्यार्थी नग्मा रेग्मीको संचालनमा सम्पन्न कार्यक्रममा कलेजका सहायक क्याम्पस प्रमुख दिवाकर खनाल र वृद्धाश्रमका सञ्चालक कृष्ण रेश्मी लगायतले बोलेका थिए । 

विद्याथीहरुले आजै बुटवल तथा तिलोत्तमा नगरपालिकामा बसोबास गर्ने २० विपन्न र अपांगता भएका परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेका छन भने २० परिवारका ४० भन्दा बढी बालबालिकाहरुलाई शैक्षिक सामग्री समेत प्रदान गरेका छन । विभिन्न क्षेत्रबाट संकलित तथ्यांकको आधारमा कलेज प्रांगणमा अपांग तथा विपन्न परिवारलाई जम्मा गरी सहयोग सामग्री वितरण गरिएको कलेजले जनाएको छ । सो कार्यक्रमको सञ्चालन कृतिमा विश्वकर्मा र कृतिका पौडेलले गरेका थिए ।