२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

‘अपांगता भएका व्यक्तिलाई रोजगारसंग जोड्न आवश्यक’

शुक्रवार , मंसिर १७, २०७८

बुटवल, १७ मंसिर । 
३० औ अन्तर्राष्ट्रिय अपांगता दिवसमा औपचारिक रोजगारीमा संलग्न अपांगता भएका व्यक्तिहरु र रोजगारदाताहरुबीच अन्तरक्रिया सम्पन्न भएको छ । द ल्याप्रोसी मिसन नेपाल, राष्ट्रिय अपांग महासङ् नेपाल र एफएनसीसीआई नेपालको साझेदारीमा सञ्चालित फाउण्ड परियोजनाले आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले अपांगता भएकालाई आयमूलक क्षेत्रमा जोड्न आवश्यक रहेकोमा जोड दिएका छन् । उनीहरुले अपांगता भएका व्यक्तिहरुले पनि सपाङ सरह काम गर्न सक्ने भन्दै उनीहरुलाई अवसर दिनुपर्ने बताए । 

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले अपांगता जुनसुकै बेला पनि हुन सक्ने बताउँदै आफुलाइ परे के गर्ने भन्ने सोचेमा अपांगता भएका व्यक्तिहरुलाई सहज हुने बताए । मुलुकमा जति धेरै उद्योग व्यवसाय खुल्छन त्यति धेरै अपांगता भएका व्यक्तिलाई रोजगारी प्रदान गर्न सकिने बताए । 

बुटवल उद्योग वाणिज्य संघ अध्यक्ष उज्जल कसजुले बोल्दै अपांगता भएकालाई रोजगारी दिन आवश्यक रहेको बताउँदै सबैले मनन गर्न आवश्यक रहेकोमा जोड दिए । अपांगता जुनसुकै बेला पनि हुन सक्ने भएकोले सबैले अपांगताको बारेमा सोचेर काम गर्न आग्रह गरे ।

फाउण्ड परियोजना बुटवल प्रमुख राम दयाल यादवले अपांगता भएका व्यक्तिको क्षेत्रमा काम गर्दै आएका व्यक्तिहरुको हितमा काम गर्दै बताउँदै अहिलेसम्म गरेका कामको बारेमा जानकारी गराएका थिए । परियोजानामा अहिलेसम्म ५ सय बढी अपांगता भएका ब्यक्तिहरु आवद्ध रहेको जानकारी दिदै उनले ८३ जनालाई विभिन्न स्थानमा रोजगारीको व्यवस्था मिलाएको जानकारी दिए । उनले केहिलाई स्वरोजगार बन्नको लागि बिउपुजी समेत उपलब्ध गराएको जानकारी दिए । 

कार्यक्रममा अपांगता भएका व्यक्तिलाई रोजगार दिइरहेका रोजगारदाता मनोज मित्तल, हरिबाबु पन्थी, प्रकाश गौतम, पत्रकार कबिन्द्र नेपाल, पत्रकार प्रदीप आचार्य, अपांगता भएका व्यक्तिहरु टिकाराम घिमिरे, प्रदीप खनाल, प्रतिमा कंडेल, लेखनाथ खनाल लगायतले बोलेका थिए । 

व्यवसाय विकास अधिकृत रमेश पोखरेलको स्वागतमा सुरु भएको कार्यक्रमको बारेमा परियोजनाकी रिना आचार्यले प्रकाश पारेकी थिइन् भने ढाआराम अधिकारीले सञ्चालन गरेका थिए ।