
शुक्रवार , मंसिर १७, २०७८
बुटवल, १७ मंसिर ।
शिक्षा, स्वास्थ्य, खेलकुद लगायत विविध क्षेत्रबाट सामाजिक कार्यमा अग्रसर हुने उद्देश्यका स्थापित इन्द्रज्योती विश्वकर्मा कल्याण समाजको एक कार्यक्रमकाबीच बुटवलमा शुभारम्भ गरिएको छ ।
बुटवलका समाजसेवी तथा पुराना सुनचाँदी व्यवसायी ज्योतिलाल विश्वकर्माले आफ्नी स्वर्गीय श्रीमती इन्द्रमति विश्वकर्माको स्मृतिमा स्थापना गरिएको इन्द्रज्योति विश्वकर्मा कल्याण समाजको शुभारम्भसंगै ३० लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरे । स्व. इन्द्रमतिको स्वर्गबास भएको एक वर्ष (वर्षि)को अवसरमा समाजको शुभारम्भ गरिएको हो ।
समाजको शुभारम्भ गर्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष तेज प्रसाद सुनारले सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याएकी विश्वकर्माको स्मृतिमा स्थापना गरिएको यस इन्द्रज्योती विश्वकर्मा कल्याण समाजले स्व. विश्वकर्मालाई कालान्तरसम्म जीवन्त राख्दै समाजसेवामा निरन्तर योगदान पुर्याउने कार्य अत्यन्तै सह्रानीय भएको बताए ।
कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष जोगलाल वि.क., सुनचाँदी महिला व्यवसायी समूहका अध्यक्ष कमला वि.क., हरिओम बराल, रवि सेञ्चुरी, पदम विश्वकर्मा लगायतले बोल्दै स्व. इन्द्रमति बिश्वकर्माको स्मृतिमा स्थपित यस संस्थाले इन्द्रज्योति दम्पतिको सामाजिक सेवाको योगदानलाई जीवन्त तुल्याउदै उहाँहरुको गरिमालाई सधै उचो राख्ने गरी निरन्तर सामाजिक सेवामा क्रियाशिल हुनका लागि शुभकामना दिएका थिए ।
वि.सं. २००८ साल श्रावण ८ गते कृष्णगण्डकी गाविस वडा नम्बर ६ मा जन्मिएकी इन्द्रमति विश्वकर्माको २०७७ मंसिर १५ गते निधन भएको थियो । निधन पश्चात उनको चाहनाअनुरुप श्रीमान् ज्योतीलाल विश्वकर्माको संरक्षकत्व र छोरा दीपक विश्वकर्माको अध्यक्षतामा उक्त समाजको स्थापना गरिएको थियो ।
स्व. इन्द्रमति विश्वकर्मा र ज्योतिलालका तीन भाई छोराहरुको सक्रियतामा यो संस्था स्थापना भएको हो । जेठा छोरा दिपक कुमार वि.क. बुटवल सुनचाँदी व्यवसायी संघका निर्वतमान अध्यक्ष र नेपाल सुनचाँदी व्यवसायी महासंघ केन्द्रिय सदस्य हुन् भने माइला छोरा प्रदिप विश्वकर्मा बुटवलमै सुनचाँदी व्यवसाय गर्छन भने कान्छा छोरा लाल बहादुर विश्वकर्मा अमेरिकामा सुनचाँदी व्यवसाय गर्ने गरेका छन् ।
संस्थाका संरक्षक ज्योतीलाल विश्वकर्माले जीवनकाल पश्चात पनि आफूहरुको सम्झनामा आफूहरुको नामबाट निरन्तर समाजसेवा भइरहोस् भन्ने चाहना अनुरुप श्रीमती इन्द्रमतिको स्वर्गबासपश्चात सम्झनामा सामाजिक काम गर्ने उद्देश्यले यस संस्थाको स्थापना गरेको बताए ।
संस्थाका अध्यक्ष दिपक विश्वकर्माले गाउँ समाजमा रहेको विभेदजन्य कुरीति कुसंस्कार, जातीय विभेद र छुवाछुतजन्य सामाजिक अपराधलाई अन्त्य गर्दै विभेदमुक्त समतामूलक समाजको निर्माण गर्न, गरिबीका कारणले शिक्षा बाट बञ्चित अज्ञानताका कारण समस्यामा रहेका बालबालिकाहरुलाई शिक्षामा सहयोग गर्न, शिक्षित र समतामूलक समाज निर्माणका साथै फरक क्षमता भएका दलित एवं विपन्न वर्गलाई आयआर्जनको कार्यक्रम सचालन गरी अतिविपन्न वर्गको शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सहयोग पुग्ने कार्यक्रम संचालन गर्न, समाजमा रहेको सामाजिक अगुवाहरुको सम्मान एवम प्रोत्साहन गर्न र दलित समुदायको सिपको आधुनिकीकरण गर्न लगायत विविध कार्य गर्ने उदेश्यका साथ यो इन्द्रज्योती विश्ववकर्मा कल्याण समाजको स्थापना गरिएको बताए ।
समाजको संरक्षकमा ज्योतीलाल विश्वकर्मा, अध्यक्षमा दिपक कुमार विश्वकर्मा, सचिवमा लाल बहादुर विश्वकर्मा, कोषाध्यक्षमा प्रदिप विश्वकर्मा, सदस्यमा शान्ती विश्वकर्मा, रितु विश्वकर्मा एलिसा सेन्चुरी र सौरम सेन्चुरी रहेका छन । कार्यक्रम बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोकुल विश्वकर्माको सञ्चालनमा सम्पन भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij