
बिहिवार , मंसिर १६, २०७८
बुटवल, १६ मंसिर ।
१७ औं विश्वविद्यालय दिवसको अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयले विविध कार्यक्रम गरी मनाएको छ । विहिबार दिवसमा विश्वविद्यालयको आयोजनामा रुपन्देहीका साईक्लिष्टहरुको सहभागितामा नयाँगाउँस्थित विश्वविद्यालयबाट लुम्बिनीसम्म साईकल र्याली गरिएको छ । ‘शान्ति र शिक्षाका लागि साईकल यात्रा’ नाम दिइएको यात्राको विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्यले युवा राईडरलाई नेपालको झण्डा दिएर शुभारम्भ गरेका थिए ।
कार्यक्रममा बोल्दै रजिष्ट्रार आचार्यले शहरी जीवनशैलीसंगै साईकल चलाउनुपर्छ भन्ने भावना मानिसहरुमा विकास भएको भन्दै स्वस्थ्य शरीर आजको आवश्यकता भएको बताए । यो वर्ष दिवस मनाउने क्रममा नै फरक र नयाँ ढंगको साईकल यात्रा कार्यक्रम राखेर सन्देश दिन चाहेको उनले बताए । यात्रामा बुटवल युनाईटेड साईक्लिङ क्लबको संयोजन, ह्याप्पी साईक्लिङ क्लब, बुटवल साईकल ग्रुप, तिनाउ साईक्लिङ क्लब, नवलपरासी साईकल एशोसियसन, साईकल साथी सैनामैनाको सहकार्य रहेको थियो ।
कार्यक्रममा रुपन्देही जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारीले खेलकुदको एउटा महत्वपूर्ण पाटोका रुपमा रहेको साईक्लिङको विकासमा सरकारको ध्यान दिनुपर्ने बताए । केवल मनोरञ्जन मात्र नभई दैनिक जीवनमा साईकलको प्रयोगलाई प्रोत्साहन गर्ने खालको सरकारले योजना ल्याउन सके यसबाट मानव स्वस्थ्यसंगै पर्यावरणमा समेत फाइदा मिल्ने बताए ।
बुटवल नयाँगाउँबाट सुरु भएको र्यालीबुटवल बजार परिक्रमा गरी राजमार्ग चौराहा, मणिग्राम, भैरहवा बुद्धचोकमा पुगेर दिप प्रज्वलन गरी बुद्ध जन्मस्थल लुम्बिनीस्थित बौद्ध विश्वविद्यालय पुगेर समापन गरिएको थियो । समापन कार्यक्रममा विश्वविद्यालयका पदाधिकारीहरुले राईडरहरुलाई खादा लगाएर स्वागत गरेका थिए ।
र्यालीमा रुपन्देही, नवलपरासीका गरी विभिन्न ६ क्लबका ८० बढी राईडरहरु सहभागी भएका थिए । विश्वविद्यालयका सूचना अधिकृत लक्ष्मण पोखरेलले प्रचारप्रसारको माध्यमका रुपमा साईकल र्याली गरिदा प्रभावकारी हुने भन्दै छोटो समयको तयारीमा कार्यक्रम राम्रो भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij