२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

‘सामाजिक उत्तरदायित्व बहनमा रोटरीको भूमिका प्रभावकारी’

बिहिवार , मंसिर १६, २०७८

बुटवल, १६ मंसिर ।
विभिन्न क्षेत्रका व्यक्तिहरुले सामाजिक उत्तरदायित्व बहनमा रोटरीको भूमिका प्रभावकारी रहेको बताएका छन् । शिक्षा, स्वास्थ्य लगायत सामाजिक सरोकारका विषयहरुमा रोटरीले विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै आफ्ना कार्यक्रम अघि बढाएको भन्दै उनीहरुले समाजमा रोटरीको छुट्टै पहिचान स्थापित भएको समेत बताए । 

रोटरी क्लव अफ बुटवलको २९ औं चार्टड नाइट समारोहमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । समाज रुपान्तरणका लागि रोटरीयनहरुको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले सामाजिक क्षेत्रमा अरु रचनात्मक क्रियाकलाप गर्न समेत आग्रह गरे ।
कार्यक्रममा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्रप्रसाद ध्वजूले समाजमा केही गरौं भन्ने भावनाका साथ रोटरीमा लागेका व्यक्तिहरुले स्वार्थ भन्दा माथि उठेर सेवा प्रदान गरिरहेको बताए । “रोटरी विशुद्ध स्वार्थरहित संस्था हो, सबैसँग हातेमालो गर्दै सामाजिक विकासका निम्ति नै यसले काम गर्दै आएको छ”–उनले भने ।

रोटरीले वर्षेनी नयाँ नयाँ प्रोजेक्ट ल्याएको र प्रोजेक्ट सम्पन्न गर्न रोटरी इन्टरनेशनलले पनि सहयोग गरिरहेको भन्दै उनले रोटरीले सञ्चालन गरिरहेका परियोजनाहरुको अवस्थाबारे निरन्तर नियमन गर्नुपर्नेमा जोड दिए ।

अनुभवी व्यक्ति रोटरीमा आउनुपर्ने र जसले युवालाई मार्गनिर्देशन गर्ने भन्दै उनले रोटरी फाउण्डेशनमा ५० प्रतिशत योगदान गर्न पनि आग्रह गरे ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवलका मानार्थ सदस्य एवं बुटवल उपमहानगरपालिकाका  प्रमुख शिवराज सुवेदीले मुलुकमा राजनीतिक स्थिरतासहितको संकल्प गर्नुपर्ने आवश्यकता रहेको भन्दै यसमा रोटरी जस्ता सामाजिक संस्थाहरुले भूमिका खेल्न सक्ने बताए । उनले रोटरीयनहरुको अझै बढी योगदान देश र समाजले खोजीरहेको पनि बताए । नगरप्रमुख सुवेदीले बुटवलको राजमार्गमा रोटरीसँग मिलेर ट्राफिक लाईट जडानका लागि बजेट समेत छुट्टयाइसकेको भन्दै तर निर्माणाधीन सडकका कारण काम अगाडि बढाउन नसकिएको बताए ।

क्लबका एसाइन एसिष्टेन्ट गभर्नर राजेन्द्र कार्कीले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा रोटरी बुटवलको अग्रणी भूमिका रहेको बताउँदै क्लबमा सदस्य संख्या वृद्धि गर्दै काममा अझै सक्रियता देखाउनुपर्ने बताए । रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष रामप्रसाद खरेल, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष जमिन कक्षपति, रोटरी सेवा पदकबाट सम्मानित डा. मिरा पाठक, क्लवका प्रेसिडेन्ट इलेक्ट बोनिन पिया, सचिव खिमनारायण पराजुली लगायतले पनि बोलेका थिए । 

त्यस अवसरमा विभिन्न अक्षयकोषबाट गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । त्यस्तै पत्रकार कविन्द्र नेपाल र एन.बी. कंडेललाई पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा पुर्व अध्यक्षहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।