२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

तिलोत्तमामा नगरस्तरीय सरसफाई ७९ औं श्रृंखलामा

बुधवार , मंसिर १५, २०७८

भैरहवा, १५ मंसिर । 
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित सरसफाई अभियान; ७९ औं श्रृंखलामा पुगेको छ । कोभिड-१९ को कारण प्रभावित सरसफाई अभियानले केही समय यता निरन्तरता पाएसँगै समुदायस्तरमा हुने सरसफाईमा नगरबासीहरु पुनः सक्रिय हुन थालेका छन् । ७९ औं श्रृंखला अन्तर्गत् बुधबार वडा नम्बर २ को तपाहालाइनमा नगरस्तरीय सरसफाई गरिएको छ ।

नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य लगायतका जनप्रतिनिधि, कर्मचारी, विभिन्न टोल विकास संस्था, क्लव, आमा समूह लगायतको सहभागितामा सरसफाई गरिएको हो । यस्तै नगरमा रहेका विभिन्न टोल विकास संस्थाहरुले समेत बुधबार आ–आफ्नो क्षेत्रमा सरसफाई गरेका छन् ।

तिलोत्तमाले पूर्ण सरसफाई उन्मुख नगरपालिका घोषणालाई प्रभावकारी बनाउन सरसफाई अभियानलाई प्राथमिकतामा राख्दै आएको छ । नगरपालिकाले हरेक महिनाको १ र १५ गते नगर स्तरीय सरसफाई अभियान सञ्चालन गर्दै आएको छ भने टोल विकास संस्थाहरुले तोकिएका दिनका अतिरिक्त शनिबार वा सार्वजनिक बिदाको दिनमा समेत सरसफाई कार्यक्रम गर्दै आएका छन् ।

कोभिड-१९ को प्रभाव कम भएर जनजीवन सामान्य हुँदै जाँदा टोल विकास संस्थाहरु सरसफाईमा सक्रिय रुपमा जुट्न थालेको नगरपालिकाको वातावरण शाखाले जनाएको छ । सरसफाई अभियानलाई सम्बोधन गर्दै नगरप्रमुख बासुदेव घिमिरेले नगरलाई सफा, स्वच्छ, हराभरा बनाउने दायित्व सबै नगरबासीको भएको बताउँदै जथाभावी फोहोर गर्नेलाई कारवाही हुने स्पष्ट पारे । सबैको सामूहिक प्रयासले नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन बनाउन सकिने बताउँदै उनले अभियानमा सहभागी हुने सबैलाई धन्यवाद व्यक्त गरे ।

सो अवसरमा उप–प्रमुख जागेश्वरी चौधरी, वडा नम्बर २ का वडाध्यक्ष दधिराम गौतम लगायतले सरसफाईमा स्थानीय समुदायको भूमिकाका बारेमा प्रकाश पारेका थिए । सरसफाई अभियन्ताहरुले सुर्ती, गुट्खा लगायत प्लाष्टिकजन्य फोहोरलाई जथाभावी नफाल्न सम्पूर्ण नगरबासीलाई आग्रह गरेका छन् ।