२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

क्यान्सर स्क्रिनिङ सेन्टर र ब्लड कलेक्शन भ्यानसहित चारवटा प्रोजेक्ट अगाडि बढ्दै

रोटरी बुटवलको २९ औं चार्टड नाइटको तयारी पूरा

मंगलवार , मंसिर १४, २०७८

बुटवल, १४ मंसिर ।
रोटरी क्लब अफ बुटवलले स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै विभिन्न चार वटा प्रोजेक्ट अगाडि बढाएको छ । रोटरीको ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत वर्ष २०२१–२२ को लागि चारवटा परियोजनाको काम अगाडि बढाइएको हो । चारवटा अन्तर्गत क्यान्सर स्क्रिनिङ सेन्टरसहित ब्लड कलेक्सन मोबाइल भ्यानसम्म छन् । 

रोटरी क्लब अफ बुटवलको २९ औं चार्टड नाइट कार्यक्रमको पुर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोटरीले अगाडि बढाएका परियोजनाबारे जानकारी दिइएको हो । 

जसअन्तर्गत रोटरी क्लव अफ बुटवलले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा द रोटरी क्यान्सर स्क्रिनिङ एण्ड डाइग्नोष्टिक सेन्टर स्थापना, रक्त सञ्चार सेवा केन्द्रसँगको सहकार्यमा रोटरी ब्लड कलेक्सन मोबाइल भ्यान, बुटवल उपमहानगरपालिकाभित्र ट्राफिक लाईट जडान र खानेपानी व्यवस्थापन परियोजना गरी चारवटा परियोजना अघि बढेको अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापना गर्न लागिएको क्यान्सर स्क्रिनिङ सेन्टर मेगा प्रोजेक्टको रुपमा रहेको क्लबले जनाएको छ । “यो करिव १० करोड रुपैयाँको मेगा प्रोजेक्ट हो, सुरुमा यसका लागि साढे २ करोड लगानी हुँदैछ”–उनले भने । क्यान्सर स्क्रिनिङ सेन्टर स्थापना भएपछि विशेष गरी महिलाहरुलाई क्यान्सर रोग पत्ता लगाउन बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने पनि उनले बताए ।

त्यसै गरी ब्लड कलेक्शन मोबाइल भ्यान खरीदको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । भारतीय टाटा कम्पनीसँग करिब ६५ लाखको लागतमा भ्यान खरीदको प्रक्रिया अघि बढेको र अब छिट्टै नै सञ्चालनमा ल्याउने गरी तयारी गरिएको अध्यक्ष उपाध्यायले बताए । मोबाइल भ्यान सञ्चालनमा आएपछि रक्तदान गर्न चाहने सर्वसाधारणले आफू बसेकै स्थानमा रक्तदान गर्न सक्ने र त्यही भ्यानभित्रै ब्लड कलेक्शन गरेर निश्चित तापत्रलममा राख्न सकिने व्यवस्था समेत भएकोले निकै नै भरपर्दो हुनेछ । 

त्यसै गरी बुटवल उपमहानगरपालिकाभित्र रोटरीले ट्राफिक लाईट जडानको प्रक्रिया पनि सुरु गर्दै छ । करिव ४५ लाखको लागतमा बुटवल उपमहानगरपालिकासँग सहकार्य गरी यो काम अघि बढाइने र यसका लागि रोटरीले मात्रै १५ लाख रुपैयाँ लगानी गर्ने उपाध्यायले बताए । यसका अतिरिक्त गरीब तथा विपन्न नागरिकको बस्ती पहिचान गरी खानेपानी परियोजनाको काम अगाडि बढाउने रोटरीको तयारी छ ।

पत्रकार सम्मेलनमा रोटरी क्लब अफ बुटवलको बुधबार हुने २९ औं चार्टड नाइटका बारेमा पनि जानकारी गराइएको थियो । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्र ध्वजूको प्रमुख आतिथ्यतामा हुने चार्टड नाइटको तयारी पूरा भएको रोटरी क्लव अफ बुटवलले जानकारी गराएको छ । 

कार्यक्रमबारे जानकारी दिंदै अध्यक्ष उपाध्यायले चार्टड नाइटका अवसरमा विभिन्न पदक, पुरस्कार र छात्रवृत्ति वितरणको कार्यक्रम पनि राखिएको बताए । कार्यक्रमकै अवसरमा सञ्चारकर्मीहरुमध्येबाट एकजनालाई पत्रकारिता पुरस्कार, पत्रकार अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने पत्रकारिता छात्रवृत्ति, नरेन्द्रतेज दृष्टिबिहीन विद्यार्थी अक्षयकोष, द्रव्यचन्द्र दृष्टिबिहीन अक्षयकोष, सपना अक्षयकोष, वृजनयन ट्रष्ट लगायतका अक्षयकोषबाट विभिन्न विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ । 

पत्रकार सम्मेलनमा रोटरी क्लब अफ बुटवलका निवर्तमान अध्यक्ष सुनिल श्रेष्ठ, सचिव खिमनाराण पराजुली लगायतले विभिन्न विषयमा प्रकाश पारेका थिए । विभिन्न सामाजिक कार्यक्रममा सक्रिय रहँदै आएको रोटरी क्लव अफ बुटवलले विगतमा विद्यालयमा  आर्थिक सहयोगदेखि लिएर स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार, खेलकूद लगायत विभिन्न सामाजिक क्षेत्रमा लगानी गर्दै आएको छ ।

रोटरी क्लब अफ बुटवलले समय समयमा सामाजिक जनचेतना ¥याली, सभा गोष्ठी, अन्तक्र्रिया गर्दै आएको तथा गरिव र दैवी प्रकोप पीडितहरुको लागि समयसमयमा मानवीय उद्दारका कार्यहरु पनि गर्दै आएको सचिव खिमनारायण पराजुलीले बताए ।
स्थापनाकालमा ६५ जना सदस्य संख्याबाट सुरु भएको रोटरी क्लब अफ बुटवलमा अहिले सदस्य संख्या वृद्धि भई ११५ पुगेको छ ।