२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

श्री सञ्जय साई बाबा मंसिर १७ गते भैरहवा आउँदै 

मंगलवार , मंसिर १४, २०७८

भैरहवा, १४ मंसिर । 
यही मंसिर १७ गते भैरहवामा श्री सञ्जय साई बाबा आउने भएका छन् । श्री सञ्जय साई बाबा सेवा समूह भैरहवा परिवारको निमन्त्रणामा उनी भैरहवा आउने छन् । 

धार्मिक कार्यक्रममा मानव सेवा भावले अग्रज र युवालाई साथ लिएर बाबा गुरु १७ गते भैरहवा आउने र बाबाको दिव्यप्रवचन हुने श्री सञ्जय साई बाबा सेवा समूह भैरहवा परिवारका अध्यक्ष राजेन्द्र थापाले बताए । १२ सदस्यीय टोलीका साथ श्री सञ्जय साई बाबाको भैरहवामा १७ गते भव्य स्वागत हुने थापाले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय कलाकारको समेत सहभागिता रहने उनले बताए ।

कार्यक्रमबारे जानकारी दिन सोमबार भैरहवामा आयोजना गरिएको पत्रकार सम्मेलनमा समाजसेवी तथा स्वागत समितिका संयोजक विनोद खरेलले मंसिर १८ गते भैरहवाको बुद्धचोकस्थित वल्र्ड लिंकको कार्यालयको पछाडी भव्य कार्यक्रम हुने बताए । हामीले भैरहवाका सम्पूर्ण नागरिकहरुलाई निम्तो दिँदैछौँ स्वागत समितिका खरेलले भने, ‘नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यतामा उद्घाटन सत्रको कार्यक्रम हुनेछ भने धार्मिक प्रवचनमा भैरहवाका ३ जना उत्कृष्ट समाजसेवीहरुलाई सम्मान गर्नेछौं ।’

कार्यक्रमको मिडिया संयोजक दीपक कौशलले महान उच्च सोच भएका साई बाबा नेपालकै भएको हुनाले कार्यक्रममा सहभागि हुन सबैलाई आग्रह गरे । १४ वर्षमै गृह त्याग गरेका साई बाबाको सत्य वाणीहरु सुन्न र पालना गर्नका लागि सबै कार्यक्रममा सहभागि हुन उनले आग्रह गरे । 

लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले सत्य मन र वचनका लागि उक्त कार्यक्रममा सबै नागरिक उपस्थित हुनुपर्ने बताए । उनले बाबाका सत्य कर्मका वाणीहरुले सामाजिक सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा नेपाल क्यान्सर सर्पोट ग्रुपका अध्यक्ष तथा श्री सञ्जय साई बाबा सेवा समूहका सल्लाहकार दिलिप भट्टराई, सल्लाहकार धर्मराज श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, प्रेस क्लबका उपाध्यक्ष सम्झना शर्मा, श्री सञ्जय साई बाबा सेवा समूहका महासचिव कुमार केसी लगायतले बोलेका थिए ।