
मंगलवार , मंसिर १४, २०७८
अमृता अनमोल
बुटवल, १४ मंसिर ।
सशस्त्र द्धन्द्धका बेला सुराकीको आरोपमा २०६० माघ १२ मा पति गिरीप्रसादको घरमै गोली हानेर हत्या भएपछि बुटवलको सेमलारकी जानकी अर्याल घिमिरेको सिन्दुर पुछियो । ६ महिने छोरी र डेढ वर्षे छोरा टुहुरा बने । धेरै उनी धेरै समय होसमा फर्कन पनि सकिनन् । होस खुलेपछि नाबालक छोराछोरी कसरी हुर्काउने र पढाउने उनी विलखबन्दनमा परिन् । यसपछि छोराछोरी बाबुआमाको जिम्मा लाएर २०५३ मंसिरमा उनी वैदेशिक रोजगारीमा गइन् । बहराइनमा घरेलु कामदारमा रुपमा १७ महिना बस्दा करिब ६ लाख रुपैयाँ कमाइन् । ऋण तिरिन् । केही रकम छोराछोरीको पढाइका लागि जम्मा गरिन् । तर, १८ महिना सुरु हुदै गर्दा उनी जेल परिन् । ‘बेखर्ची भएर अलपत्र परेकी पोखराकी एक महिलालाई रकम दिएर घर पठाएका थियौं । अरुलाई रकम दिएर उद्दार गर्नु त्यहाँको कानुनमा अपराध रहेछ । रकम दिने रेखा न्यौपाने, जुना राइ र मलाई प्रहरीले समात्यो । १ महिना जेलमा बसाल्यो,’ जानकीले भनिन् , ‘नेपाल सरकारबाट उद्दार भएन । घर मालिकले टिकट काटेर पाकिस्तान हुँदै नेपाल पठाइदियो ।’
वैदेशिक रोजगारीले जानकीको आर्थिक हैसियत मात्र होइन सामाजिक हैसियत पनि बढाइदियो । आफू जाने देशको कानुन नजान्दा के समस्या हुँदोरहेछ त्यसबारे पनि अनुभव भयो । फर्केपछि उनले विदेश जादा महिलाले अपनाउनुपर्ने सतर्कताबारे सिकाउन थालिन् । यसले बोल्ने बानी पर्दै गयो । द्धन्द्धपीडित समाज र मानव अधिकारका लागि एकल महिला समूहमा उनी आबद्ध भइन् । आफूजस्तै द्धन्द्धबाट परिवार गुमाएका र सिन्दुर पुछिएकालाई संगठित पार्दै गइन् । अहिले राजनीति, सामाजिक र आर्थिक तीनवटै गतिविधिमा सक्रिय छिन् । उनी परिवार दलको केन्द्रीय सदस्य एवं महिला संगठनको प्रवक्ता, एक महिला समूहको प्रदेश अध्यक्ष, आप्रवासी महिला सरोकार केन्द्रको जिल्ला अध्यक्ष र न्यायका लागि द्धन्द्ध पीडित समाजको जिल्ला सल्लाहकार हुन् । फास्टफुड र होटल व्यवस्थापन सिकेकी उनले फुर्सदमा दुवै कामबारे तालिम चलाउँछिन् । ‘मेरो उपलब्धी वैदेशिक रोजगारीको कारण हो । रोजगारीमा नगएको भए आर्थिक हैसियत बदलिने थिएन,’ जानकीले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएको भए आत्मबल बढाएर घरबाहिर निस्कन र सामाजिक गतिविधिमा संलग्न हुन सक्ने नै थिइन“ ।’
हरिकला मल्लले अन्तरजातीय बिहे गरिन् । तर ठकुरीको घरमा मगरकी छोरी भने विभेद सुरु भयो । २ छोरा जन्मेपछि पतिले दोस्रो बिहे गरे । पतिको वेवास्तापछि छोरा हुर्काउन र पढाउन समस्या भयो । यसपछि तिलोत्तमा नगरपालिका–३, स्मृतिपथकी हरिकला नाबालक सन्तान छोडेर २०५८ सालमा साउदी अरब गइन् । ३० हजार रुपैयाँ खर्च गरेर भारतीय बाटो हुँदै घरेलु कामदारका रुपमा गएकी थिइन् । मासिक करिब २५ हजार रुपैयाँ कमाउथिन् । त्यहाँ ३ वर्ष बसिन् । कमाइबाट छोराछोरी पढाइन् । घडेरी जोडिन् र आफ्जै घर बनाइन् । आर्थिक हैसियत बढेपछि पतिसंग सम्बन्धविच्छेद गरिन् । नियमित आम्दानीका लागि ब्यूटीपार्लर खोलिन् । तर, हरिकलाको मन त्यतिमा थामिएन । अहिले आफ्नै नामबाट हरिकला झोला उद्योग खोलिन् । त्यहाँ ढाकाका नयाँनयाँ झोला उत्पादन र विक्री हुन्छ । ‘यो सबै वैदेशिक रोजगारीको परिणाम हो । स्वदेशमा बसेर घरव्यवहार चलाउन नसक्ने धेरै महिलालाई वैदेशिक रोजगारीले दाम र पहिचान दिएको छ । काम गर्ने उर्जा दिएको छ,’ उनले भनिन्,‘स्वदेशमै केही गर्न सक्ने महिला भने विदेश जानु हुँदैन । अवैध रुपमा जाने वैदेशिक रोजगारी पनि जोमिमपूर्ण छ । यसलाई रोक्नुपर्छ ।’
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी तुल्सा पौडेल सानैदेखि चलाख थिइन् । आफ्नै व्यवसाय गर्ने र अरुलाई पनि रोजगारी दिने सपना देख्थिन् । वाणिज्य विषय पढ्ने र ज्ञान सीप सिकेर व्यवसाय थाल्ने योजना थियो । तर, किशोरी उमेरमै गुल्मीका गोविन्द वस्नेतसंग बिहे भयो । वाणिज्यको साटो सामाजिक मनोविज्ञानमा स्नातक गरिन् । पढाइ सकेलगत्तै बुटवलमा करीयर प्लानिङ एजुकेशन नेटवर्क प्रा.लि. खोलेर व्यवसायमा हात हालिन् । जहाँ विभिन्न कक्षा र भाषाको प्रशिक्षण दिने र विदेश पढ्न पठाउन परामर्श दिने गरिन्थ्यो । कम पुँजीको प्रा.लि.मा शिक्षकलाई पारिश्रमिक दिन र लगानी बढाउन समस्या भयो । तुल्सा निराश भइन् । यसपछि विदेश जाने, पैसा कमाउने, सुचना प्रविधि पनि पढेर फर्कने योजना बनाइन् ।
२२ वर्षिय तुल्सा डेढ वर्षे दूधे बालिका पतिको जिम्मा छोडेर २०७२ वैशाखमा जापान् गइन् । तुल्साले भाषा प्रशिक्षणसंगै सुचना प्रविधि पढ्न थालिन् । पार्ट टाइम काम गरेको भरमा आफू जाँदा गएको ऋण तिरिन् । पुरानो घरव्यवहार मिलाइन् । बसोबास र व्यवसाय गर्न सक्ने गरी केही रकम पनि जुटाइन् । २०७७ फागुनमा उनी सधैका लागि विदेशी जीवन त्यागेर स्वदेश फर्किन् । अहिले आफूले स्थापना गरेको करीयर प्लानिङ एजुकेशन नेटवर्क प्रा.लि.लाई नयाँ ढंगबाट चलाउन थालेकी छन् । जहाँ सूचना प्रविधि, परामर्श, भाषा प्रशिक्षण लगायतका काम हुन्छन् । ‘जापानमा विषयगत सीपबाहेक कडा मिहिनेत, अनुशासन र व्यवस्थापनबारे प्रयोगात्मक अभ्यास गर्न पाएँ,’ २८ वर्षे तुल्साले भनिन्, ‘ त्यही अभ्यासलाई व्यबहारमा उतारेर काम थालेकी छु ।’
तुल्सा वैदेशिक रोजगारी अवस्था बदल्ने अवसर भए पनि लामो समय उतै बस्ने र उताको सीप खेर फाल्नुलाई कायरपन ठान्छिन् । ‘स्वदेशमा सहज अवसर नपाएका बेला केही समय सीप सिक्न वा कमाउन विदेश जानु युवाको बाध्यता हो,’ उनले भनिन्, ‘तर विदेश गएर उतै हराउने वा गइरहने व्यक्ति आफैप्रति अविश्वासी र कातर हो ।’
अहिले पनि वैदेशिक रोजगारी महिलाका लागि सहज छैन । देश, समाज हँुदै परिवारको कानूनी, सामाजिक र पारिवारिक बन्देज छ । पाइला पाइलामा अंकुश र काम गर्ने अधिकारमाथि नियन्त्रण छ । सुरक्षित, व्यवस्थित र सहज व्यवस्थापन गर्नुको साटो सुरक्षाको नाममा महिलाको वैदेशिक रोजगारमाथि प्रतिबन्ध लगाउँदै आएको छ । यद्यपि विपन्नता र हिंसाले थलिएका महिला जसोतसो वैदेशिक रोजगारीमा जाने, केही कमाउने र स्वदेशमा फर्केपछि स्वरोजगारमा लाग्ने धेरै छन् । तर यसबारे सरकारी तथ्यांक छैन । वैदेशिक रोजगारीबाट फर्केकाको संस्था आप्रवासी महिला सरोकार केन्द्रमा देशका करिब ४० हजार महिला आबद्ध छन् । त्यसको तथ्यांकमा वैदेशिक रोजगारीबाट फर्केका करिब १२ हजार महिला अहिले सबल उद्यमी तथा व्यवसायी बनेका छन् ।
वैदेशिक रोजगारीबाट फर्केका युवाको सीप परीक्षण गरी त्यसअनुसारको काम दिने नीति बनाए पनि तीन तहकै सरकारले काम थालेका छैनन् । वैदेशिक रोजगारीबाट फर्केकालाई प्राथमिकता दिदै लुम्बिनी प्रदेश सरकारले गत वर्ष थालेको शून्य ब्याजदरमा अनुदानको १० करोड रुपैयाँको उद्यम विकास कोषबाट अहिलेसम्म वैदेशिक रोजगारीबाट फर्केमा ३ जना महिलाले मात्रै रकम पाएका छन् ।
संघीय सरकारले ३ वर्षअघि थालेको वैदेशिक रोजगार सहुलियत कर्जाको व्यवस्था गरे पनि बैंकहरुले अपनत्व लिएका छैनन् । गत असारसम्म ऋण लिन माग गरेका १८ हजार ७ सय ३४मध्ये जम्मा १९ महिलाले अन्य शीर्षकमा ऋण पाएका छन् । ‘महिलाहरुको आर्थिक, सामाजिक हैसियत बदल्न र हिंसाविरुद्ध लड्न सिकाउने सशक्त माध्ययम वैदेशिक रोजगार हो,’ उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणा भन्छिन्, ‘विदेशको अनुभवपछि स्वदेशमा उद्यम व्यवसाय थाल्न चाहनेलाई तीन तहकै सरकारले सहज वातावरण बनाइदिनुपर्छ ।’
लुम्बिनी प्रदेशका उद्योग तथा वाणिज्य मन्त्री अजय शाहीले भने वैदेशिक रोजगारीबाट फर्केकाको स्पष्ट योजना र रकम सुनिश्चितताको ग्यारेण्टी नहुँदा सरकारी रकम भए पनि बैंकहरु लगानी गर्न हिच्कीचाएको बताउँछन् । ‘सरकारका प्रतिनिधि, बैंक र वैदेशिक रोजगारीबाट फर्केका युवा बसेर छिटै सरकारी अनुदान सहज बनाउने र व्यवसायिक योजना बनाउन सघाउने तयारी गरेका छौं ।’ उनी सुनाउँछन् ।
अवैध बाटोबाट जाँदा समस्या
वैदेशिक रोजगार बोर्डका अनुसार हाल नेपाल सरकारको इजाजत पत्रमार्फत ११० र व्यक्तिगत श्रम स्वीकृतिमार्फत १७२ देशमा रोजगारीका लागि जान पाइन्छ । वैदेशिक रोजगारीमा जाने धेरै विपन्न र मध्यमवर्गीय महिला छन् । उनीहरु धेरै खाडी मुलकमा जान्छन् ।
सरकारले महिलाका लागि उमेर हद, कामको प्रकृति लगायतमा बन्देज लगाउदा अहिले पनि भारतीय बाटो भएर वैदेशिक रोजगारीमा जाने र दुःख पाउने महिला धेरै छन् । थोरै रकममा जान पाइने, सीप र शिक्षा नभए पनि हुने भएपछि भारतीय बाटो हँुदै खाडी मुलुकमा रोजगारीमा गएका धेरै महिला आर्थिक, शारीरिक र मानसिक समस्या भोग्न बाध्य छन् । श्रम स्वीकृति बिना जानेलाई राज्यले संरक्षण उद्दार नगर्दा झन् ठूलो समस्यामा फस्ने गरेका छन् ।
त्यसमध्येकी हुन् रुपन्देहीको तिलोत्तमा नगरपालिका माधवलियाकी कल्पना थापा । घरेलु कामदारका लागि सीप र योग्यता नचाहिने । मासिक ४० हजार रुपैयाँ तलब पाइने । दिनको ८ घण्टा काम गरे पुग्ने । बढी काम गरे अतिरिक्त रकम र काम गरेकै ठाउँमा खान एवं बस्नको सुविधा हुने । बुुटवलका जीवनाथ भट्टराईले यस्तै प्रलोभन देखाएपछि कल्पनाले विदेश जाने र भाग्य चम्काउने निधो गरिन् । त्यसका लागि सयकडा चार रुपैयाँमा ऋण खोजेर ९० हजार रुपैयाँ दलाललाई दिइन् । रकम बुझाएको तीन महिनापछि ०७४ जेठमा तीन छोराछोरीकी आमा भारतको दिल्ली हुँदै साउदी अरबको रियाद पुगिन् । तिनै कल्पना अहिले साढे ३ वर्षपछि रित्तो हात घर फर्केकी छिन् । ‘भाषा जानिन । संस्कार जानिन । घरभित्रको काम थियो विद्युतीय सामान चलाउन र उनीहरुको स्वादको खाना पकाउन पनि जानिन,’ कल्पनाले भनिन्, ‘यही कारण मालिकले सुरुका ६ महिना तलबै दिएन । पछि पनि भने जति तलब माग्दा पटकपटक कुटाइ खाए । ’ स्वदेशी दाजुभाइले उद्धार गरेर घर फर्केकी हु“ ।’
वैदेशिक रोजगारीमा रहेका महिलाहरुको क्षेत्रमा कार्यरत पौरखी नेपालको तथ्यांकमा श्रम स्वीकृति नलिइ भारतीय बाटो वा अवैध तरिकाले जाँदा वार्षिक ३ हजार महिला दुःख पाएर फर्कने गरेका छन् । तर, श्रम स्वीकृति नहुनेलाई राज्यले सहयोग गर्दैन । वैदेशिक रोजगारीमा दुःख पाएर घर फर्केका महिला घरपरिवार र समाजबाट पनि अपहेलित हुन्छन् । ‘विदेशमा हिंसा भयो भन्नासाथ यौन सम्बन्ध राखेको, यौनरोग वा एचआइभी बोकेर फर्केको हो कि भनेर चरित्र हत्या गर्ने गरिन्छ,’ ३ वर्ष कुबेतमा काम गर्दा जेल परेर फर्केकी बुटवल मोतीपुरकी राधिका न्यौपानेले सुनाइन् ,‘यही कारण पतिसंग राम्रो सम्बन्ध रहन सकेन ।’
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांकमा देशका करिब १५ लाख युवा भारतबाहेकका देशमा कार्यरत छन् । यसमध्ये करिब ३ लाख महिला हुन् । धेरै महिला सरकारी प्रक्रिया नअपनाई जाने भएकाले वैदेशिक रोजगारीमा रहेका श्रमिक महिलाहरूको वास्तविक संख्या भने यकिन छैन ।
वैदेशिक रोजगारीका समस्याबारे अध्ययन गरिरहेका इक्विडियम नेपालका कार्यकारी निर्देशक रामेश्वर नेपालल देशको वैदेशिक रोजगार ऐन महिलामैत्री नहुँदा अहिले पनि कानुनी प्रक्रिया बाहिरबाट जाने गरेको बताउँछन् । ‘वैदेशिक रोजगारमा जाने धेरै महिला सीपमूलक, दक्ष र अर्धदक्ष कामदारको समूहमा पर्दैनन् । उनीहरु पितृसत्तात्मक सामाजिक संरचना र लैंगिक विभेदको थिचोमिचोमा छन् । त्यसैले अर्धदक्ष वा अदक्ष कामका लागि लाग्ने पनि रकम तिर्न सक्दैनन् । त्यसैले कमाएर तिर्ने वा कम खर्च लाग्ने प्रलोभनमा दलालको भरमा पर्छन्’ उनले भने, ‘अवैध रुपमा श्रममा जाने महिलालाई रोक्न देशले नै सुरक्षा, संरक्षण र सहज वातावरण बनाइदिनुपर्छ ।’
सीप र संस्कार नजान्दाका दुःख
वैदेशिक रोजगारीमा जाने धेरै महिला मध्यम र विपन्न वर्गका छन् । मुस्लिम देशमा टाउको देखाउन नपाउने, परपुरुषसंग बोल्न नपाउने, नवाज पढ्दा शान्त हुनु पर्ने, विद्युतीय सामान चलाउने, सरसफाई लगायत नियमहरु नजान्दा धेरै नेपाली महिलाहरुले यातना भोग्नुपर्ने र तलब काटिने समस्या छ । ‘एकदिन सुपर मार्केटमा जाँदा छिमेकी दाइ देखेर बोलीहालें,’ ५ वर्ष कुबेतमा रोजगारी गरेर फर्केकी देवदह नगरपालिका खैरेनीकी उमा थापाले भनिन्, ‘बोलेकै कारण मलाई त्यस यता धेरै यातना दिइयो । मोबाइल चलाउन दिइएन । बाहिर जाँदा बुर्का लगाउन पठाइयो ।’
आफू जाने ठाउँको जानकारी र विदेश जाँदा चाहिने न्यूनतम सीप एवं ज्ञान नजान्दा दुःख र यातना पाउने पनि धेरै महिला छन् । २०७३ साउनमा घरेलु कामदारका रुपमा युएइ गएकी सैनामैना नगरपालिका रामापुरकी देवकी परियारलाई १० जनाको परिवारमा खाना पकाउने र घर सरसफाई गर्ने जिम्मेवारी थियो । विद्युतीय उपकरण कहिल्यै नचलाएकी उनलाई हरेक काममा समस्या भयो । ‘जे गर्दा काम बिग्रन्छ । त्यसैले पोल्थे । कहिले आइरन त कहिले तातेको चुलोले हात डामिदिन्थे,’ उनले भनिन्, ‘काम बिगारेको भनेर तलब पनि काटिदिए । मासिक ४० हजार दिने भनिएकोमा १० देखि १२ हजार रुपैयाँ मात्रै दिन्थे । त्यो पनि समयमा दिदैनथे ।’
वैदेशिक रोजगार ऐनले विदेश जान चाहनेलाई स्वदेशमा सीपको व्यवस्थादेखि विदेशमा सुरक्षा र फर्केपछि कमाएको रकमको सदुपयोग र पुनस्र्थापनासम्मलाई समेटेको छ । धेरै महिला यसबाट पनि वञ्चित छन् । ‘नबुझी विदेश जाँदा अधिकांश महिलाले फरकफरक आर्थिक, शारीरिक र मानसिक यातना भोगेका हुन्छौं,’ वैदेशिक रोजगारीबाट फर्केकी आप्रवासी महिला सरोकार केन्द्र रुपन्देही सदस्य सुमित्रा परियार भन्छिन् ‘तर,सामाजिक लान्छना सहनुपर्ने डरले धेरै महिलाले आफूहरुले दुःख पाएका सबै कुरा घरमा पनि सक्दैनौं ।’
आप्रवासी महिलाको परामर्श र उद्धारमा संलग्न पौरखी नेपालकी रुपन्देही अध्यक्ष भगवती खनाल वैदेशिक रोजगारीमा जान महिलालाई बन्देज लगाउनु भन्दा जाने देश र कामबारे नजानी जान नहुने, जाँदा लाग्ने खर्च, त्यो समयमा स्वदेशमै गर्न सकिने नगद आम्दानी र पारिवारिक सहयोग जोड्दा वैदेशिक रोजगारबाट धेरै नाफा भए मात्रै जानुपर्नेबारे राज्यले तल्लोतहसम्म सिकाउनुपर्ने सुझाव दिन्छन् । ‘वैदेशिक र सुरक्षित रोजगारीबारे वडास्तरबाटै चेतना फैलाउनुपर्छ,’ उनी भन्छिन् , ‘जान चाहनेलाई सहज व्यवस्था र दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij