
सोमवार , मंसिर १३, २०७८
बुटवल, १३ मंसिर ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले १७ औ विश्वविद्यालय दिवसको अवसरमा सोमबार रक्तदान गरी मनाएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना तथा नेपाल नियमित रक्तदाता संघको सहकार्यमा सिटी कलेजमा सोमबार रक्तदान कार्यक्रमको विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले रक्तदातालाई ब्लड ब्याग वितरण गरी उद्घाटन गरे । दान दिएको कारण नै संसार राम्रो देख्छौ र यसले हौसला बढाउन मद्दत मिल्ने उनले बताए ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्य, नेपाल नियमित रक्तदाता संघका प्रमुख सल्लाहकार बिमल बहादुर शाक्य, नेपाल नियमित रक्तदाता संघका कार्यवाहक अध्यक्ष लेखराज भण्डारी, सिटी कलेजका संयोजक बल बहादुर पाण्डे, विश्वविद्यालयका लक्ष्मण पोखरेलले रक्तदानसम्बन्धि भ्रमहरुलाई चिर्न जरुरी रहेको बताए । नेपालमा सबैभन्दा बढी रक्तदान गर्ने रक्तदाता प्रेम सागर कर्माचार्यको अनुभवबाट रक्तदानबाट कुनै नकारात्मक असर गर्दैन भन्ने प्रमाणित हुने भन्दै उर्जा प्राप्त हुने उनले बताए । रुपन्देहीको रक्तसंचार केन्द्रमा प्रत्येक वर्ष साढे २७ हजार युनिट रगत संकलन भएर वितरण हुँदै आएको छ नेपालमा ३ लाख युनिट रगत संकलन भएर विवरण हुने गरेको छ ।
नेपाल नियमित रक्तदाता संघका कार्यबाहक अध्यक्ष लेखराज भण्डारीले प्रत्येक महिनाको तेस्रो रक्तदान अभियान चलाउन सुरु गरेको बताए । बिरामीका आफन्तहरु रगत लिन जाँदा शोधभर्ना गर्नुपर्ने बाध्यता आइपरेको भन्दै यसलाई अन्त्य गर्न न्यूनतम ३ हजार युनिट रगत ल्याउन सके यो समस्या समाधान हुने देखिएको उनले बताए।
कार्यक्रममा पन्ध्रपार्टी टोल विकास संस्थाका अध्यक्ष कमल प्रसाद अधिकारी संरक्षण गरिएको जग्गामा विश्वविद्यालय स्थापना गरी शिक्षाको ज्योति जगाउने काम भएको बताए । कार्यक्रम संयोजक मोहनलाल भण्डारीले ५६ युनिट रगत संकलन भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij