२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

लायन्स सिद्धार्थनगर लोटसको आयोजनामा निःशुल्क मधुमेह परीक्षण शिविर

सोमवार , मंसिर १३, २०७८

भैरहवा, १३ मंसिर ।
लायन्स क्लब अफ सिद्धार्थनगर लोटसको आयोजनामा भैरहवामा एकदिने निःशुल्क मधुमेह परीक्षण शिविर सोमबार भैरहवामा सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका–३ स्थित बुद्ध शान्ति पथमा भएको शिविरमा ९२ जनाको मधुमेह परीक्षण गरिएको कार्यक्रम संयोजक कमला दर्लामीले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का फिजिसियन डा. संजय कुमार साहले मधुमेहले मृगौला, आँखा लगायतलाई असर गर्न सक्ने भएकाले सचेत हुन आग्रह गरे । उनले खानपिनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

लायन्स क्लब अफ सिद्धार्थनगर लोटस वर्ष २०२१÷२२ का अध्यक्ष मन्जु खरेलले लायन्सले पाँचवटा विधामा काम गर्नुपर्ने भएकाले सोही अनुसार शिविर आयोजना गरिएको बताइन् । उनले शिविर गरिएको स्थानमा यसअघि खाद्यान्न सामग्री वितरण गरिसकिएको बताइन् । आगामी दिनमा क्लबले निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरिने उनको भनाइ थियो । ‘सेवाको हात लिएर अन्य ठाउँमा जानेछौं, ’उनले भनिन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष तथा लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२१/२२ का अध्यक्ष भीष्म प्रसाद न्यौपानेले शरीरका लागि व्यायाम आवश्यक रहेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन क्लबलाई आग्रह गरे ।

लायन्स सिद्धार्थनगर लोटस वर्ष २०२१/२२ का अध्यक्ष मन्जु खरेलको अध्यक्षता, कार्यक्रम संयोजक कमला दर्लामीको स्वागत, क्लबका सह–कोषाध्यक्ष लत्ता पोखरेलको झण्डा अभिवादन तथा सचिव सरिता आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।