२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

पाँचवर्षमा विषादी सेवनबाट ३५४ जनाले गरे आत्महत्या

रुपन्देहीमा ‘सेल्फास’ किटनाशक विषादी विक्रीवितरणमा रोक

सोमवार , मंसिर १३, २०७८

भैरहवा, १३ मंसिर ।
रुपन्देहीमा विगत पाँच वर्षमा विषादी सेवनबाट ३५४ जनाले आत्महत्या गरेका छन् । त्यस्तै चालु आर्थिक वर्षको ४ महिनामा विषादी सेवनबाट १४ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जनाएको छ । १४ जनामध्ये ७ जनाले ‘सेल्फास’ नामक किटनाशक विषादी प्रयोग गरी आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार के.सी.ले बताए ।

यसैबीच रुपन्देही प्रहरीले आइतबारदेखि जिल्लामा सेल्फास (‘आल्मुनियम फस्फेट–३ ग्राम’) नामक विषादी विक्रीवितरण र प्रयोगमा पूर्णत निशेष गरेको छ । स्थानीय तहसंग समन्वय गरी नेपाल प्रहरीको स्थानीय ईकाईले भण्डारण वा प्रयोगमा रहेको प्रतिबन्धित सेल्फास सुरक्षित रुपमा नष्ट गर्ने निर्णय समेत गरिएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताए । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार भैरहवामा आत्महत्या न्यूनीकरण सन्दर्भमा किटनाशक विषादीको प्रयोगसम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको छ । कार्यक्रममा प्रहरी उपरीक्षक मनोज कुमार के.सी.ले आत्महत्या न्यूनीकरण कार्ययोजना ‘थ्री सर्कल’ तथा किटनाशक औषधीको प्रयोगबाट भएका आत्महत्याको विवरणको बारेमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा मानसिक रोगसंग सम्बन्धित विशेषज्ञ चिकित्सकहरु, क्वारेन्टाइन कार्यालयका प्रमुख, स्थानीय तहका कृषि शाखा प्रमुख, एग्रोभेट सञ्चालक, विषादी विक्री वितरण गर्ने पसल सञ्चालकहरु लगायतको उपस्थिति रहेको थियो ।

जिल्लामा आत्महत्याको संख्या बढेको र त्यसमा किटनाशक औषधी प्रयोग अत्याधिक देखिएपछि प्रहरीले ‘आत्महत्या न्यूनीकरण कार्ययोजना ‘थ्री सर्कल’ अभियान सुरू गरेको थियो ।

कार्यक्रममा देवदह मेडिकल कलेज रुपन्देहीका सह–प्राध्यापक डा.मनोज ढुङ्गानाले आत्महत्याको प्रमुख कारण मानसिक समस्या भएको बताए । उनले विषादी सेवनले आत्महत्या हुने क्रम बढेको बताए । 

प्लान्ट क्वारेन्टाईन कार्यालय रुपन्देहीका प्रमुख कुलदिप घिमिरेले सेल्फासको दुरुपयोग बढ्दो क्रममा रहेको बताए । उनले सरकार अझ कडाईका साथ जानुपर्ने बताए ।

क्रिमशन हस्पिटल देवदह रुपन्देहीका डा. सन्दिप वर्माले आत्महत्या न्यूनीकरणका लागि समाजको योगदान आवश्यक रहेको बताए ।

पशु क्वारेन्टाईन कार्यालय रुपन्देहीका प्रमुख डा. भक्त निउरे र कृर्षि निर्देशनालय बुटवल रुपन्देहीका अधिकृत अनिल बानिया लगायतले बोल्दै विषादीको विक्री वितरणमा नियमन र सेल्फासको नियन्त्रणबाट आत्महत्या न्यूनीकरणमा सहयोग पुग्ने बताए ।