
सोमवार , मंसिर १३, २०७८
तिलोत्तमा, १३ मंसिर ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका बेला–बेलामा चर्चामा आउने गर्दछ । आफ्नो सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाएको यो नगरपालिकाले अहिले आफ्ना वडामार्फत नै घरनक्सा पास तथा विकास निर्माणका योजनाहरुलाई वडाबाटै काम हुने गरी सेवा प्रवाह सुरु गरेको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले भने, ‘अब नक्सा र योजना सम्झौता तथा सम्पन्न लिन नगरपालिका आउन नपर्ने गरी सेवा विस्तार गरेका छौं, आशा छ, सेवाग्राहीहरुमा यसले छिटो सहज र मितव्ययी अपनाउन सहयोग पुग्नेछ ।’
पौडेलले वडा नम्बर–४ बाट सो सेवा शुभारम्भ भएको घोषणा गर्दै अब सेवाग्राहीलाई थप सहज, बिना झन्झट, समय र पैसाको बचत हुने गरी नगरपालिका अगाडी बढेको बताए ।
‘सेवा प्रवाहलाई घरआँगनमा जोड्दै तिलोत्तमा नगरपालिकाका नगरबासी योजना सम्झौताको लागि अब नगरपालिका धाउने होइन, नगरपालिकाको प्रशासन, योजना शाखा अब जनताको घरदैलोमा आउने प्रणालीको शुभारम्भ गरेका छौ, ’ उनले भने ।
प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले आइतबार वडा नम्बर–४ बाट सेवा सम्झौता प्रारम्भ गर्दै सो कुरा उल्लेख गरेका हुन् । नगरपालिकामा भइसकेका सम्झौतासंगै वडा अनुसारका सम्झौता तथा नगरभित्रका घरनक्सा पाससम्मको प्रक्रिया अब वडाबाटै हुने प्रमुख पौडेलको भनाइ छ । शुभारम्भ कार्यक्रममा तिलोत्तमा नगरपालिका योजना शाखाका प्रमुख प्रदिप बन, योजना अधिकृत पशुपति खनाल, इन्दिरा सुवेदी ज्ञवाली, वडा नम्बर–४ का सचिव काशीराम ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij