
शनिवार , मंसिर ११, २०७८
बुटवल, ११ मंसिर ।
गणेशमान कृष्ण प्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारको संयुक्त आयोजनामा बुटवल उपमहानगरपालिका–२ मा रहेको सिद्धबाबा दुर्गा भवानी शिवकुमारी शैंजु वृद्धआश्रमलाई न्यानो कपडा वितरण गरेको छ । मिलिजुली परिवारले सामाजिक संजाल टिकटकबाट जुटाएको पैसाले आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरेको हो । तराईमा जाडो बढेसँगै ज्येष्ठ नागरिकलाई जाडोयामबाट बच्नको लागि न्यानो कपडा वितरण गरिएको मिलिजुली परिवारले जनाएको छ ।
मिलिजुली परिवारका संयोजक रारा सैंजू (रेखा)ले टिकटकबाट लाईभ बसी कमाएको पैसा सामाजिक क्षेत्रमा खर्च गर्दै आएको जानकारी दिइन् । अहिलेसम्म देशभरका ४६ स्थानमा परिवारले सहयोग गर्दै आएको र अब शिक्षातर्फ छात्रवृत्ति कोषको स्थापना गरिने जानकारी दिइन । उनले टिकटकलाई मनोरञ्जनको साधन मात्र नभएर आफ्नो कला प्रस्तुत गर्दै सामाजिक क्षेत्रमा उपयोग गर्न सकिने दावी गरिन् । विभिन्न आश्रममा मिलिजुलीले आद्यान्न तथा नगद सहयोग गर्दै आए पनि अब गरिब तथा जेहेन्दार विद्यार्थीको लागि विद्यालयमा छात्रवृत्ति सञ्चालन गरिने उनले बताइन् । सैंजूले आफ्ना सुसरा समाजसेवी गणेशमान शैंजुको प्ररेणाबाट सामाजिक क्षेत्रमा काम गर्दै आएको बताइन् ।
दुर्गा भवानी शिवकुमारी सैंजू वृद्धआश्रमका अध्यक्ष महेश्वर श्रेष्ठले आश्रमले अहिले बालआश्रम पनि सञ्चालनको तयारीमा रहेको जानकारी दिए । यसको लागि अहिले भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको बताए । यस्तै गणेशमान कृष्ण प्यारी स्मृति प्रतिष्ठानका संरक्षक अनुपमान सैंजुले मनुष्य भएर जन्मिएपछि आफ्नो लागि मात्र नभएर अरुको लागि पनि केही गर्नुपर्ने सोच बनाएर सामाजिक क्षेत्रमा लागेको बताए । बुबा गणेशमानको प्ररेणाबाटै आफु सामाजिक क्षेत्रमा लागेको उनले बताउँदै बुबा आमाको नाउमा अहिले आश्रम सञ्चालनमा भएको जानकारी दिए ।
विश्व हिन्दु महासंघ महिला समितिका महासचिव सुजिता सैजु, राधेराधे परिवारका सचिव धनमाया भट्टराई लगायतले बोल्दै सामाजिक सञ्चालको सदुपयोग गर्दै सामाजिक क्षेत्रमा लाग्न सकिने उदाहरण मिलिजुली टिकटक परिवार रहेको बताए । यस्तै प्रतिष्ठान र मिलिजुली परिवारले वृद्धआश्रममा कार्यरत कृष्ण बहादुर रेश्मीलाई पनि सहयोग गरेको छ । मृगौला रोगबाट पीडित भएका उनलाई १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएका परिवारका सल्लाहकार माधव भट्टराईले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij