२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

फोहरलाई पुनः प्रयोग गरी लाभान्वित हुँदै महिला

बुधवार , मंसिर ८, २०७८

बनेपा, ८ मङ्सिर। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका महिला फोहर वस्तु पुनः प्रयोग गरी आर्थिक लाभ लिन थालेका छन।


उनीहरुलाई आय आर्जन गर्ने विधि सिकाएर आम्दानीको बाटो देखाउने काम सुरु भएको छ।नगरपालिकाले नगरभित्र उत्पन्न भएका फोहरलाई ‘मोहर’ बनाउने अभियानअनुरुप महिलालाई त्यससम्बन्धी तालिम प्रदान गरेको छ। घर तथा टोलमा फालिएका प्लाष्टिकबाट सजावटका सामग्री बनाउन नगरपालिकाले तालिम सञ्चालन गरेपछि अहिले नगरभित्रका १८ महिला सो तालिम लिइरहेका छन। ‘हरेक पल जोशजाँगर, सिर्जनशील र स्वरोजगार’ नारासहित नगरपालिकाले विभिन्न वडाबाट महिलाको प्रतिनिधित्व गर्ने गरी सहभागी गराएर तालिम प्रदान गरेको हो।

नमोबुद्ध नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारका अनुसार विपन्न महिलालाई स्वरोजगार बनाउने तथा वातावरणमैत्री नगरको अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइन। तालिममा खेर जाने र जथाभावी फालिएका प्लाष्टिकको सदुपयोग गर्दै दैनिक उपयोगका सामग्री बनाउँदा त्यसले महिलाको आयआर्जन बढाउनुका साथै आवश्यक सामग्री खरिदका लागि हुने खर्चबाट समेत जोगाउने उनको भनाइ छ।

तालिममा सहभागी महिलाले चाउचाउ, बिस्कुटलगायतका विभिन्न सामग्रीका प्लाष्टिकका खोलबाट चकटी, गुन्द्री, ढकी, कलशलगायतका सामग्री बनाउन सिकिरहेका छन। त्यसरी बनाइएका सामग्री दैनिकरूपमा घरमै उपयोग गर्न सकिन्छ भने बजारमा बिक्री गरेर आम्दानी गर्न सकिने छ। तालिममा सहभागी महिलाले सीप सिकेसँगै उहाँहरुले उत्पादन गरेका सामग्रीको थप बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने सुनुवारले बताइन।

नमोबुद्ध नगरपालिकाले यसअघि पनि महिलाको सीप विकासका लागि अचार बनाउनेलगायत विभिन्न किसिमका तालिम आयोजना गरिसकेको छ। नगरपालिकाले स्थानीयस्तरमा उत्पादित सामग्रीको बजारीकरणका लागि कोसेली घर स्थापनाको योजनासमेत अघि बढाइसकेको नगरप्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले बताए। नगरपालिकाले यसअघि नगरभित्र उत्पादित कृषि तथा फलफूलजन्य उत्पादनको बजारीकरणका लागि कृषि उपज सङ्कलन केन्द्रसमेत सञ्चालन गरिसकेको छ। तालिमको सहजीकरण सावित्रा पौडेल र डोल्मा लामाले गरिरहेका छन।रासस