२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

रुपन्देही जिल्लाका सरकारी कार्यालयहरुको वार्षिक समीक्षा

मंगलवार , मंसिर ७, २०७८

भैरहवा, ७ मंसिर । 
रुपन्देही जिल्लाका सरकारी कार्यालयहरुको वार्षिक प्रगति विवरण समीक्षा गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालय रुपन्देहीेको आयोजनामा भएको आर्थिक वर्ष २०७७/०७८ सालमा भएका प्रगति विवरण समीक्षा तथा २०७८/०७९ को कार्यक्रम सार्वजनिकीकरण तथा बिभिन्न समस्याहरुका बारेमा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुले प्रस्तुतीकरण राखेका थिए ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले जिल्लाभरीका काम कसरी सञ्चालित भएका रहेछन् भनेर जानकारी हुनुका साथै सिकाई हुने भएकोले कार्यक्रमको आयोजना गरिएको बताए ।

हामीले २२ जना सांसदहरुलाई बोलाएका थियौँ, विश्वकर्माले भने, ‘जिल्लाका सरकारी कार्यालयहरु विकास निर्माणका काम कसरी सञ्चालित छन् जनताले लिने सेवा कसरी प्राप्त गरेका छन् गत वर्षका बजेट कसरी कार्यान्वयन भएका छन् भनेर विविध विषयमा जानकारी हुने हिसाबले कार्यक्रम गरिएको हो ।’ उनले जिल्ला समन्वय समितिले सबैले बोलेर कार्यक्रम गर्दा के समस्या र चुनौति छन्, ÷कुनकुन तहको सरकारको भूमिकाले समस्या हल हुन्छ भन्ने सन्दर्भमा कार्यक्रमको आयोजना गरिएको बताए । ‘संघीय व्यवस्था सफल पार्न जिल्ला समन्वय समितिको महत्वपूर्ण भूमिका हुने रहेछ, ’उनले भने ।

कार्यक्रममा रुपन्देही जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले वार्षिक प्रगति तथा विभिन्न समस्याहरु प्रस्तुतीकरण गरेका थिए । घरेलु तथा साना उद्योग कार्यालय, सामाजिक विकास डिभिजन कार्यालय, स्वास्थ्य कार्यालय,  निर्वाचन कार्यालय, भीम अस्पताल, सडक पूर्वाधार विकास कार्यालय, बेलहिया बुटवल सडक, डिभिजन वन कार्यालय, पर्यटन डिभिजन कार्यालय, जलश्रोत तथा सिञ्चाई कार्यालय, भेटेनरी अस्पताल लगायत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्ना प्रस्तुति राखेका थिए ।

समीक्षा तथा कार्याक्रम सार्वजनिकीकरण कार्यक्रममा प्रदेशसभा सदस्यहरु तुल्सीप्रसाद चौधरी, भोजप्रसाद श्रेष्ठ, दिपा वि.क., थान कुमारी थापा, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी लगायतको आतिथ्यता रहेको थियो ।

जिल्ला समन्वय समिति सदस्य खेम प्रसाद लुईटेलको स्वागत मन्तव्य तथा जिल्ला समन्वय अधिकारी धर्मा अर्याल बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।