२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

तिलोत्तमा : विकासको सम्भावना बोकेको भर्जिन सिटी

शुक्रवार , मंसिर ३, २०७८

  • 5.4K
    Shares
  • 5.4K
    Shares
  • ३ मङ्सिर। मुलुकमा स्थानीय तहको अभ्यास सुरु भएपछि सबैभन्दा बढी चर्चामा रहँदै आएको छ, रुपन्देहीको तिलोत्तमा नगरपालिका । स्थानीय सरकारको असल अभ्यासका कारण देशकै उत्कृष्ट नगरपालिकाको रूपमा सम्मानित समेत भयो । स्थानीय तहको कानून आफै निर्माण गर्ने सन्दर्भमा होस् वा आर्थिक समृद्धिका लागि लगानी सम्मेलन आयोजना गर्ने पहिलो स्थानीय तहका रूपमा तिलोत्तमाकै नाम अग्र भागमा आउँछ ।

    मध्यभागमा रहेको लुम्बिनी प्रदेशका ठूला बजार बुटवल र भैरहवालाई जोड्ने तिलोत्तमा रूपन्देहीका साविक ७ वटा गाविस (शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, टिकुलीगढ, माधवलिया र गंगोलिया) मिलेर गठन भएको हो । २०७१ साल वैशाख २५ गते स्थापना भएको तिलोत्तमा रूपन्देहीको बीच भएर बग्ने नदीको नामबाट नामाकरण गरिएको हो । तिलोत्तमा समुद्री सतह १६० देखि १७५ मिटरसम्म उचाइमा अवस्थित छ । पुर्वमा रोहणी नदी र देवदह नगरपालिका, पश्चिममा तिनाउ नदी, सियारी र शुद्धोधन गाँउपालिका, उत्तरी सीमामा बुटवल उपमहानगरपालिका एवं दक्षिणमा ओमसतिया गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाको सीमा छोएको छ ।

    नगरपालिका स्थापना र स्थानीय तहको निर्वाचन सम्पन्नपछि जनप्रतिनिधिले गर्व गर्न लायक काम गरेका छन् । यसलाई उदाहरण दिँदै अन्यत्रका स्थानीय तहले समेत तिलोत्तमा जस्तो हुनुपर्छ भन्ने गरेको पाइन्छ । यहाँ पर्यटकीय सम्भावना बोकेका थुप्रै पर्यटकीय स्थलहरु छन् ।

    १. बाउन्नकोटी वन

    डेढ दशक अघिसम्म गाईभैंसीको चरन क्षेत्र रहेको उजाड वन अहिले भरिभराउ रुख विरुवाले हरियाली मात्र छैन, जिल्लाकै नमूना पर्यटकीय स्थलको रुपमा परिचय बनाएको छ । २०५७ सालसम्म बेवारिसे अवस्थामा रहेको रुपन्देहीको बाउन्नकोटी वन समुदायमा हस्तान्तरण भएपछि तारबार गरेर संरक्षण पाएपछि हराभरा हुन थालेको हो ।
    तिलोत्तमा नगरपालिका तथा सियारी र ओमसतिया गाउपालिकाको ७ वटा वडाका बीचमा रहेको बाउन्नकोटी सामूदायिक वनले अहिले रुपन्देहीको सौराहाको उपमा पाएको छ । यहाँ रहेको प्राचीन बाउन्नकोटी मन्दिर, नन्द–भाउजु ताल र सिमसार क्षेत्रको संरक्षण अनि वृक्षारोपणले हराभरा भएपछि करिब एक सय ५५ हेक्टर क्षेत्रफलको वन अहिले आन्तरिक पर्यटकको रोजाइको गन्तव्य स्थल बनेको छ । बाउन्नकोटी वन नजिकै १० किलोमिटर आसपास क्षेत्रमा यस्तो हरियालीयुक्त रमणीय स्थान अरु नभएकाले यहाँ भैरहवादेखि भारतीय सीमावर्ती शहर सुनौली, नौतनवा, गोरखपुरसम्मबाट समेत पर्यटकहरु घुम्न र वनभोजका लागि आउने गर्छन् । आन्तरिक पर्यटकको आगमन बढेसँगै यहाँ दर्जन बढी पिकनिक सेड र बाल उद्यानहरु निर्माण गरिएका छन् ।

    वर्षेनी करिब एक लाख बढी पर्यटक आउने गरेको तथ्यांक छ । वनका लाभान्वित घरधुरी ८ हजारमध्ये ३ हजार ५ सय बढी सदस्य छन् । यो वन टिक प्रजाति भएको नेपालको पहिलो वन पनि हो । ७५ वटा प्लटमा विभाजित वनमा ३० प्लटमा टिक मात्रै लगाइएको छ भने ४५ वटा प्लटमा टिक, शिशौ र अन्य प्रजातिका विरुवा लगाइएको छ । वनमा वैज्ञानिक वन व्यवस्थापन पद्धति लागू गरिएको छ । जस अनुसार हरेक वर्ष २ हेक्टर क्षेत्रफलका पुराना रुख मासेर नयाँ रुख रोपिन्छ । वनको आम्दानीलाई स्थानीय आमा समूह, युवा क्लबहरुलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्मका दरले कर्जा दिएर तरकारी खेती, बाख्रापालन लगायतका व्यवसाय गर्न वनले उत्प्रेरित गरेको छ । यसबाट वनप्रति समुदायको माया र अपनत्व बढेको छ । वनलाई तीन वर्षअघि सरकारले १ सय वटा पर्यटकीय गन्तव्यमा राखेर ५० लाख बजेट दिएपछि उपभोक्ता समिति अझै हौसिएको छ । सरकारको ५० लाख बजेटमा समूहले ११ लाख थपेर अहिले ६१ लाख रुपैयाँ लागतमा एक बिघा क्षेत्रफलमा व्यवस्थित पार्किङ स्थल, टिकट घर र प्रवेशद्वार बनाउन सुरु गरिएको छ ।

    सरकारले पर्यटकीय गन्तव्य स्थलमा पारेसंगै वनले एक अर्ब रुपैयाँ लागतको १० वर्षे गुरुयोजना बनाएर कार्यान्वयन गर्ने तयारीमा जुटेको छ । गुरुयोजना अनुसार वनभित्र रहेका एक–एक विघाका प्राचीन नन्द–भाउजू ताललाई सौन्दर्यीकरण, बाल उद्यान र पिकनिक स्पटहरुको स्तरवृद्धि र विस्तार, १० हेक्टर सिमसार क्षेत्रलाई ताल बनाएर माछापालन र डुंगा शयर, वनको वरिपरिको सडकलाई चक्रपथमा रुपान्तरण, वन विहार गर्न चारै दिशामा फुटपाथ निर्माण, खेल मैदान, भ्यू टावर, पर्याप्त शौचालय, खानेपानीको आपूर्ति जस्ता संरचनाहरु बनाउने योजना छ ।

    बुद्ध जन्मस्थल लुम्बिनी र वन नजिकै रहेको विदेशी लगानीको पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई समेत वनको पर्या पर्यटनसंग जोड्ने उद्देश्यले गुरुयोजना बनाइएको छ । १० वर्षभित्र वनलाई टिकमय र प्रदेशकै नमूना पर्यटकीय स्थल बनाउने लक्ष्य रहेको छ । गुरुयोजनामा वनभित्रै व्यवस्थित गौशाला, बाउन्नकोटी मन्दिरको संरक्षण तथा प्रवद्र्धन, छेउछाउका बस्तीहरुलाई ग्रिन भिलेजको रुपमा परिणत गरी होमस्टे सञ्चालन गर्ने पनि समावेश छ । वनलाई प्रदेशकै नमूना पर्यटकीय स्थल बनाउन प्रदेश सरकारले पनि चासो राखेकाले गुरुयोजना समयमै पूरा हुने र १० वर्षभित्रै लगानी पनि उठाउने लक्ष्य छ ।

    २. शंकरनगर वनवाटिका

    तिलोत्तमाको शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)मा पछिल्लो समयमा आन्तरिक तथा वाह्य पर्यटकहरुको गन्तव्यको रुपमा विकास भएको छ । पछिल्लो समय खास गरी पिककिक स्पटको रुपमा वनवाटिका प्रख्यात भएको पाइन्छ । अहिले उक्त क्षेत्रमा विभिन्न आकर्षक बाल उद्यान निर्माण गरिएको छ भने संघ–संस्थाको सहकार्यमा पार्क समेत निर्माण गरिएको छ । भ्युटावर निर्माणको क्रममा रहेको छ । वनवाटिकामा वार्षिक झण्डै दुई लाख आन्तरिक तथा बाह्य पर्यटक अवलोलन तथा भ्रमणका लागि आउने गर्छन् । पूर्व–पश्चिम राजमार्गदेखि करीब १ किलोमिटरभित्र घना बस्ती छेउ शंकरनगर सामूदायिक वन छ । वनको ५ सय ७६ हेक्टर वनमध्ये ५१ हेक्टर वृक्षारोपण क्षेत्रलाई २०६२ सालदेखि व्यवस्थित गरी वन बिहार तथा अनुसन्धान केन्द्र बनाइएको हो । केन्द्रमा चिडियाखाना, जडीबुटी अनुसन्धान केन्द्र, योग केन्द्र, बोटानिकल गार्डेन, जैविक विविधता अनुसन्धान केन्द्र, बाल उद्यान, पार्क, पिकनिक स्थल, सभास्थल लगायत बनाइएको छ । पर्यटकले प्रत्यक्ष अवलोकन गर्न सक्ने गरी चिडियाखाना व्यवस्थित गरिएको छ । चितुवा, मृग, नीलगाई, अजिंगर, भालु, खरायो, चाइनिज मुसा, मयूर सारस लगायत दुई दर्जन प्रजातिका पशुपंक्षी संरक्षित छन् । रमणीय पार्क र चिडियाखाना रहेको वाटिकामा वनभोज खान र घुम्न आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् । विवाह, वनभोज, शुभकार्य र सांगीतिक कार्यक्रमका लागि आउनेको संख्या धेरै छ । साँझ–बिहान योग तथा ध्यान गर्न जानेको दिनहुँ लर्को लाग्छ । यहाँ रहेका विभिन्न जनावर तथा जैविक विविधताको अध्ययन र अनुसन्धान गर्न आउने पर्यटक संख्या पनि बढेको छ । वनबाटिका क्षेत्रमा रहेको रोटरी चाइल्ड डेभलपमेन्ट रिसर्च सेन्टरमा करिब ५० लाख रुपैयाँको लागतमा टोय ट्रेन सञ्चालनमा छ । 

    ‘समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर शहर : सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर’ भन्ने दीर्घकालीन सोचका साथ ५ वर्षको आवधिक योजना र १५ वर्षको रणनीतिक योजना निर्माण गरी समग्र विकास निर्माणका कामहरू अघि बढाइएको छ । आर्थिक समृद्धिका लागि हामीले तिलोत्तमा लगानी सम्मेलन सम्पन्न गरिएको छ । लगानी सम्मेलनमा जनाइएको प्रतिबद्धता अनुसार लगानी आउने क्रम जारी छ । कोरोना महामारीका कारण केही काम प्रभावित भए पनि त्यसले पुनः गति लिँदै छ । लगानी सम्मेलनमा जनाइएको प्रतिवद्धता अनुसार दुग्ध प्रशोधन परियोजना, कोल्ड स्टोर परियोजना, तिलोत्तमा चक्रपथमा रेल संचालन परियोजना लगायत लगानीका धेरै परियोजनाहरू अघि बढेका छन् ।

    यस्तै, नगरपालिकाले साना उद्योगहरू स्थापना गर्ने उद्देश्यले औद्योगिक ग्राम बनाउने काम पनि अघि बढाएको छ । यी सबै विषयहरू यहाँको आर्थिक विकास र समृद्धिका लागि केन्द्रित छन् । यस्तै, होमस्टे प्रवद्र्धन, सघन सरसफाइ, सडकमा बुद्धमूर्ति स्थापना, वनवाटिकामा बहुउद्देश्यीय भ्यू टावर निर्माण लगायतका कामहरू पर्यटन विकासका लागि गरिएका प्रयासहरू हुन् । नयाँ बन्ने घरहरूलाई निर्धारण गरिएको कलर कोड पनि पर्यटनसंग सम्बन्धित विषय हो ।

    तिलोत्तमामै प्रदेशस्तरको मेडिकल कलेज निर्माण हुँदैछ । पूर्वाधार निर्माणका लागि तिलोत्तमा नगरपालिकास्थित करहिया सामुदायिक वन र शंकरनगर सामुदायिक वनको दुई सय बिघा जग्गा कलेजले लिइसकेको छ । जहाँ एक हजार शैय्याको अस्पताल बन्नेछ । आवासीय चिकित्सकदेखि कर्मचारीका छोराछोरीले अध्ययन गर्न विद्यालय, चिल्ड्रेन पार्क, बगैँचा, स्वीमिङ पुल लगायतका संरचना समेत बनाउने योजना छ ।

    रुपन्देहीकै मध्यभागको अवस्थिति, बीचबाट सिक्सलेन सडक र बौद्ध परिक्रमा पथ, भारतीय सीमा र निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक, प्रयाप्त खुल्ला क्षेत्र, सडक, विद्युत, पानीको प्रयाप्तता जस्ता कारणले यहाँ लगानी तीव्रतर बढिरहेको छ । तिलोत्तमा आफैमा अपार सम्भावना बोकेको भर्जिन सिटी भएकाले यहाँ स्वदेशी तथा विदेशी निजी क्षेत्र, विकास साझेदार संस्थाहरुको लगानी भित्र्याउन सकिने थुप्रै सम्भावना छ ।