२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

मृगौला प्रत्यारोपणका लागि संकलित रकम मृतकका परिवारलाई सहयोग

सोमवार , कार्तिक २९, २०७८

भैरहवा, २९ कात्तिक ।
मृगौला प्रत्यारोपणका लागि संकलित रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका २२ वर्षिय स्व. दुर्गा राना (अर्जुन)को मृगौला प्रत्यारोपणका लागि संकलित रकम उनको परिवारलाई सोमबार हस्तान्तरण गरिएको छ । बेलहिया युवा सामाजिक अभियन्ता समूहले आह्वान गरे पश्चात उठेको ९ लाख ९७ हजार ५ सय ३५ रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो ।

सोमबार मृतक स्व. दुर्गा रानाका बुवा शेरचन र आमा कृष्ण रानालाई उक्त रकम हस्तान्तरण गरिएको समूहका अध्यक्ष तथा आर्थिक सहयोग संकलन अभियानका संयोजक सुमन शर्माले बताए । ‘मृगौला प्रत्यारोपणका लागि विभिन्न संघ–संस्था, बेलहियावासी, उद्योगी–व्यवसायी तथा विदेशमा रहेका बेलहियाबासीबाट रकम संकलन गरेका थियौं, तर दुर्गा रानाको ज्यान बचाउन सकेनौं, हामी दुःखित छौं, पीडित परिवारलाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले मृतक स्व. दुर्गाको घरमा पुगेर रकम हस्तान्तरण गरिएको छ, ’शर्माले भने । दुवै मृगौला खराब भइ उपचाररत दुर्गाको असोज १७ गते निधन भएको समूहका सचिव माधव शर्माले बताए । 

बेलहिया युवा सामाजिक अभियन्ता समूहका कोषाध्यक्ष देवराज न्यौपानेले दुर्गा रानाको मृगौला प्रत्यारोपणका लागि रकम संकलन गरिएको बताए । उनले मृगौला प्रत्यारोपणका लागि लाग्ने खर्च संकलन अभियानमा लागे पनि बिरामीको निधन पश्चात मृतकका परिवारलाई रकम हस्तान्तरण गरिएको बताए । ‘दुर्गाको उपचारका लागि बेलहियाबासी, यहाँका संघ–संस्था तथा विदेशमा रहेका बेलहियावासीले आर्थिक सहयोग संकलन अभियानमा साथ र सहयोग गर्नुभएको थियो, यसका लागि उहाँहरुप्रति समूह आभार प्रकट गर्दछ, ’उनले भने । समूहमार्फत समाजमा भएका दुःख पीडामा मल्हम लगाउने उद्देश्यले संस्थाको स्थापना गरिएको न्यौपानेले बताए । 

हस्तान्तरण कार्यक्रममा बोल्दै समाजसेवी विजय शर्माले बेलहिया सामाजिक अभियन्ता समूहले अत्यन्तै सराहनीय कार्य गरेको बताए । उनले दुर्गा रानाको उपचारका क्रममा लिएको ऋण तिर्न पनि परिवारलाई केही सहज हुने विश्वास व्यक्त गरे । बुढेसकालको सहारा भएका छोराको अल्पायुमै मृत्यु भयो, यो निकै नै दुःखदायी घटना हो, शर्माले भने ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष रमेश मल्लले हरसम्भव कोशिष गर्दा पनि बिरामीको ज्यान बचाउन नसकिएको बताए । बेलहिया सामाजिक अभियन्ता समूहले कोभिड–१९ महामारीमा खाद्यान्न, पानी लगायतको व्यवस्था गरेको उनले बताए । 

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का लुम्बिनी प्रदेश सदस्य उज्जवल पोखरेलले कोभिड महामारीको बेला पनि समूहले राम्रो काम गरेको बताए । उनले बेलहियाले एक–अर्कालाई सहयोग गर्दै आएको बताए ।

लुम्बिनी खुकुरी क्लबका अध्यक्ष राम बहादुर बस्नेतले दुःख परेको परिवारलाई बेलहियावासीले एकताबद्ध भएर सहयोग गर्दै आएको बताए । 
स्व. दुर्गा रानाका बुवा शेरचन रानाले सहयोग गर्ने बेलहिया युवा अभियन्ता समूहलाई धन्यवाद ज्ञापन गरे । बेलहिया युवा सामाजिक अभियन्ता समूहका अध्यक्ष सुमन शर्माको अध्यक्षता तथा सचिव माधव शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।