
शुक्रवार , कार्तिक २६, २०७८
परासी, २६ कात्तिक ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको वार्षिक कार्ययोजना गोष्ठी नवलपरासीको अमलटारीमा सुरु भएको छ । दुई दिनसम्म चल्ने गोष्ठीमा संगठनले आगामी वर्षको कार्ययोजना तयार गर्ने संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले जानकारी दिए ।
कार्ययोजनामा व्यवसायको स्तरउन्नति गर्नेदेखि व्यवसायीहरुको समस्यालाई सम्बोधन गर्नेसम्मका ३३ बुंदे प्रस्ताव पेश गरिएको छ । होटल तथा रेष्टुरेष्ट व्यवसायलाई मर्यादित र स्वच्छ सफा राख्नका लागी खाद्य शुद्धतासम्बन्धी प्रशिक्षणमूलक कार्यक्रम गर्ने, होटलहरुको वर्गीकरण गर्ने, अव्यवस्थित बेलहिया नाका र ट्राफिक व्यवस्थापन, ठेला व्यवसायको व्यवस्थापन गर्दै नगरको सुन्दरीकरण कसरी गर्न सकिन्छ भन्ने बिषय पनि कार्ययोजनामा समावेश गरिएको छ ।
होटल व्यवसायका लागी आवश्यक दक्ष जनशक्ति उत्पादन र वैदेशिक रोजगारीमा जाने प्रक्रिया रोक्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न कुक तथा वेटर हाउसकिपिड. तालिम सञ्चालन गर्ने विषयहरु कार्ययोजनामा समावेश गरिएको संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले बताए ।
संगठनका अध्यक्ष पिताम्बर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्ययोजनाको उद्घाटन सत्रमा उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष तथा होटल रेष्टुरेण्ट व्यवसायी संगठनका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवाली, संगठनका निवर्तमान अध्यक्ष गणेश बेल्वासे, पर्यटन व्यवसायी तथा संगठनका सल्लाहकार कृष्ण अधिकारी (सागरं) मदिरा व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष केशवराज ज्ञवाली, संगठनका सल्लाहकार प्रश्यात बन्जाडे, लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष दिपेश पछाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
गोष्ठीमा आर्थिक प्रतिबेदन कोषध्यक्ष नरेन्द्र खनालले प्रस्तुत गरेका थिए । संगठनका स् बरिष्ठ उपाध्यक्ष राम प्रसाद पोख्रेलको स्वागत तथा महासचिव राजेश महोत्राको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij