‘बेंसीमा प्रायः भदौ र असोजभित्र अलैंची टिप्ने र थन्क्याउने काम सकिन्छ । लेकाली क्षेत्रमा कात्तिकदेखि मंसिरसम्म अलैंची टिप्ने चटारो हुन्छ,’ उनले भने । केही वर्षयता अलैंचीको भाउ निरन्तर ओरालो लागेको छ । तर पनि अलैंची खेतीप्रति किसानको उत्साह घटेको छैन । किसानले बर्सेनि अलैंची खेतीको क्षेत्र विस्तार गरिरहेका छन् । मसला, जडीबुटी र औषधिका रुपमा प्रयोग गरिने अलैंची खेती जिल्लाको ६१ वडामा गरिँदै आएको छ ।
अलैंची खेतीबाटै किसानको आर्थिक अवस्था बलियो भएको मिक्वाखोला गाउँपालिका–६ का देउप्रसाद लिम्बूले बताए ।
‘भूगोल अनुसारको जातको अलैंची लगाउन सके आम्दानी मनग्य गर्न सकिने सम्भावना छ,’ उनले भने । कम मेहनतले अन्य बालीको तुलनामा बढी आम्दानी लिन सकिने भएकाले पछिल्लो समय किसान अलैंची खेतीतर्फ आकर्षित हुने गरेका लिम्बू बताउँछन् ।
अलैंचीको दाना र बेर्ना बिक्रीबाट किसानको आर्थिक अवस्थामा सुधार आएको छ । कतिपयले अलैंची बिक्रीको आम्दानीले शहर–बजारमा घरजग्गा खरिद गरेका छन् । धान उत्पादन हुने उर्वर सिमसार खेतमा समेत किसानले अलैंची लगाउन थालेका छन् ।
जिल्लामा करिब चार हजार तीन सय हेक्टरमा अलैंची खेती गरिँदै आएको छ । गत वर्ष दुई हजार ९६० मेट्रिक टन अलैंची उत्पादन भएको थियो । रासस