
शनिवार , कार्तिक २०, २०७८
झापा, २० कात्तिक ।
तिहार भन्ने बित्तिकै झिलिमिली बत्ती र देउसी-भैलोको सम्झना सबैलाई हुन्छ । तर यसपालि चाडलाई उल्लास थप्ने देउसी–भैलो दुर्लभजस्तै भएको छ । कोरोना महामारीका कारण पहाड र तराई–मधेस सबैतिर देउसी र भैलो खेल्न आउने टोली त्यति देखएनन् ।
पौराणिक कथा अनुसार बलिराजाले घरघर पुगेर देउसी–भैलो खेल्न उर्दी गरेपछि तिहारमा यसको चलन शुरु भएको हो । लक्ष्मीपूजा गरेपछि महिलाहरु भैलमे खेल्न र गोवर्धन पूजा गरेपछि पुरुषहरु देउसी खेल्न हिँड्ने प्रचलन छ ।
संस्कृति र परम्परा कुनै पनि समुदायको पहिचान हो । नेपालीको साझा संस्कृतिको रुपमा विकास भएको दशैं, तिहार र छठ जस्ता चाडपर्वको महत्व घट्न दिन नहुने साहित्य चौतारी झापाका अध्यक्ष देवीभक्त श्रेष्ठ बताउँछन् । यसपालि देउसी–भैलोको स्वर गाउँ शहरमा कम गुञ्जिएकोमा उनले चिन्ता व्यक्त गरे ।
कोरोना नै देउसी–भैलो खेल्नेको संख्या कम हुनुको मुख्य कारण भएपनि नयाँ पुस्तामा बढिरहेको इन्टरनेट लत पनि यसको अर्को कारण भएको मानिन्छ । इन्टरनेटको सहज पहुँचका कारण बालबालिका तथा किशोर पुस्ता मनोरञ्जनका लागि मोबाइलमा ‘भर्चुअल गेम’ र सामाजिक सञ्जालमा नै मस्त देखिन्छन् ।
झापामा साहित्य चौतारीको पहलमा हरेक वर्ष झापाली स्रष्टाहरुले दक्षिणारहित देउसी–भैलो खेल्दै आएका छन् । यसपटक स्वास्थ्य मापदण्ड पालना गरी चौतारीले विर्तामोडमा सामूहिक रुपमा देउसी कार्यक्रम गरेको थियो ।
संस्कृतिको संरक्षण, मनोरञ्जन र सार्वजनिक संस्थाको कोषवृद्धिका लागि देउसी–भैलो खेल्ने पुरानै चलन हो । यसपटक सांस्कृतिक भेषभूषामा सजिएर नाचगान गर्दै हिँड्ने देउसी टोली आफ्ना गाउँतिर नदेखिएको नेपाली कांग्रेस अर्जुनधाराका उपसभापति चतुर्भुज काफ्लेले बताए । ‘पूजापाठ गर्ने र भाइटीका लगाउने चलनको तिहारमा आफ्नै महत्व छ, तर आँगनमा देउसी–भैलो नगुञ्जिँदा कताकता खल्लो जस्तो लाग्दोरहेछ,’ उनले भने, ‘पार्टीको भवन निर्माणका लागि सहयोग जुटाउन हामी पनि केही ठाउँमा देउसी टोली लिएर गयौं, तर जुन–जुन गाउँमा गयौं, त्यहाँ अरु कोही पनि देउसी खेल्न आएकै थिएनन् । सुनसान जस्तो लाग्यो ।’
मेचीनगर नगरपालिका–१० खयरडाँगीमा पाँच सय जति घर छन् । विगतमा लक्ष्मीपूजाका दिनदेखि भाइटीकाको मध्यरातिसम्म देउसी–भैलो खेल्ने टोलीको लर्को हुन्थ्यो । बालबालिका, युवा र पाकाहरुको छुट्टाछुट्टै टोली हुन्थ्यो देउसीको । तर यसपालि गाउँमा दुई चारवटा देउसी र भैलो टोली मात्र डुलेको स्थानीय कल्पना अधिकारी बताउँछिन् । झापामा मात्र होइन पहाडी जिल्ला इलाममा समेत देउसी–भैलोको चहलपहल अत्यन्त कम भएको पत्रकार सोम सुसेलीले बताए । कोभिड–१९ को महामारी समाप्त नभएकाका कारण हिँडडुलमा स्वनियन्त्रण हुँदा देउसी–भैलो सुनसान भएको उनको बुझाइ छ ।
इलाम बजार मात्र नभएर ग्रामीण क्षेत्रमा समेत नाचगान लिएर हिँड्ने टोली नदेखिएको र बालबालिकाहरुलाई अभिभावकहरुले नै हिँडडुलमा अनुमति नदिएको सुसेलीले बताए । स्थानीय प्रशासन र पालिकाहरुले समेत राति देउसी–भैलो नखेल्न आग्रह गरेको पाइएको छ ।
कोरोना महामारीको चपेटामा परेर धेरै आफन्त र छिमेकी गुमाएका कारण सर्वसाधारणमा अझै पनि त्रास व्याप्त छ । झापाका अधिकांश पालिकाले तिहार अघि सूचना जारी गरी राति अबेरसम्म देउसी नखेल्न सचेत गराएका थिए । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij