images

बुधवार, बैशाख २६ गते २०८१

कालीगण्डकी गाउँपालिकाले बेच्यो ५ लाखको फूल

कालीगण्डकी गाउँपालिकाले बेच्यो ५ लाखको फूल

images
images
images
शनिवार, कार्तिक २० २०७८
शनिवार, कार्तिक २० २०७८
  • कालीगण्डकी गाउँपालिकाले बेच्यो ५ लाखको फूल

    स्याङ्जा, २० कात्तिक ।

    images
    images
    images

    कालीगण्डकी गाउँपालिकाले यो वर्षको तिहारमा पाँच लाख रुपैयाँको फूल बिक्री गरेको छ । फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने योजनाअनुसार १९ रोपनी जमिनमा लगाएको सयपत्री फूल बिक्री गरेर गाउँपालिकाले पाँच लाख आम्दानी गरेको हो ।

    गाउँपालिकाले वडा नं ७ को बारीचौरमा पाँच र वडा नं ४ बिर्घा पुछारमा १४ रोपनी गरी कुल १९ रोपनी जग्गा भडामा लिएर सयपत्री फूलखेती गरेको थियो । फूल बिक्रीका लागि कुनै पनि समस्या नभएको र मागअनुसारको फूल पुर्‍याउन नसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रै रोजगारी सिर्जना गर्ने योजना अनुसार पहिलोपटक सुरु गरेको व्यावसायिक फूलखेती सफल भएपछि यसलाई सबै वडामा विस्तार गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।

    ‘स्थानीय बासिन्दालाई आवश्यक पर्ने फूलको बीउ, प्राविधिक सहयोगसमेत उपलब्ध गराएर यसलाई फूलैफूलको गाउँपालिका बनाउने योजनाअनुसार हामी काम गर्दैछौँ’ उनले भने ।  काम गर्ने किसानलाई आवश्यक सहयोग प्रदान गरेर प्रोत्साहन गर्ने कार्यमा गाउँपालिकाले कुनै पनि प्रकारको कन्जुस्याइँ नगर्ने अध्यक्ष थापाले बताए ।

    किसानले उत्पादन गरेका वस्तु बजारीकरणको जिम्मासमेत गाउँपालिकाले लिने अध्यक्ष थापाको भनाइ छ । कृषिका माध्यमबाटै स्थानीयवासीलाई स्वरोजगार बनाउने योजनाअनुसार गाउँपालिकाले नै पहिलो चरणमा फूल र ड्रागन खेती सुरु गरेको अध्यक्ष थापाले बताए ।

    गाउँपालिकाले लगाएको फूलखेतीबाट पालिकावासीसमेत उत्साहित भएका छन् । पालिकाले लगाएको फूल ग्राहकको मागअनुसार पुर्‍याउन नकिएकाले आफूहरुलाई समेत यो खेतीतर्फ आकर्षित गरेको कालीगण्डकी–६ का हिराबहादुर गाहाले बताए । व्यवसायिकरूपमा फूलखेती गरेर समेत मनग्य आम्दानी गर्न सकिने अवस्था गाउँपालिकाले सिर्जना गरेको उनको भनाइ छ ।

    गाउँपालिकाले सुरु गरेको फूलखेतीबाट करिब ४०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने पालिकावासीलाई फूलखेतीमा लाग्ने प्रेरणा मिलेको छ । फूलखेतीमा स्थानीयवासीले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । फूल रोप्ने कार्यदेखि गोडमेल, फूल टिप्ने, माला बनाउने कामसम्म आइपुग्दा करिब ४०० जनाले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ ।

    सयपत्री कर्मा ५५५ जातको फूल लगाइएकामा पहिलो चरणको फूल बिक्री गरेर सकिएको छ । तिहारअघि नै तिहारका लागि साथै अन्य विभिन्न कार्यक्रम, पूजापाठ, विवाह, सजावटलगायतका कार्यका लागि बगैँचामै आएर ग्राहकले फूल लगेका छन् । सयपत्री कर्मा ५५५ जातको फूल मङ्सिरसम्म टिप्न मिल्ने हुँदा पहिलो चरणमा फक्रिएका फूल बिक्री गरेर सकिएको र अहिले पनि ती बोटमा कोपिला लागिरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख हुमप्रसाद श्रेष्ठ (मनिष)ले जानकारी दिए ।

    उनका अनुसार प्रतिमाला फुटकरमा रु ८० देखि ९० सम्ममा र होलसेलमा रु ४५ मा बिक्री भएको छ । फूलखेती गर्दा करिब रु दुई लाख ४८ हजार खर्च भएको र पाँच लाख आम्दानी भएकोसमेत गरेको कृषि शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । यहाँ उत्पादित फूल गण्डकी, लुम्बिनी, बागमती र कर्णाली प्रदेशसम्म निर्यात गरिएको गाउँपालिकाले जनाएको छ । बारीचौरलाई फूलैफूलको होमस्टे बनाउने पालिकाको योजना छ भने बिर्घामा ड्रागन खेतीसँगै फूलखेतीसमेत गरिएको छ । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij