
शनिवार , आश्विन १७, २०७७
भैरहवा, १७ असोज ।
लायन्स क्लब अफ सिद्धार्थनगरले रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार अन्तर्गत सम्मरीमाई गाउँपालिकाका बाढीप्रभावितहरुलाई राहत सामाग्री प्रदान गरेको छ । क्लबले वडा नम्बर १, ३ र ५ का ४० घरपरिवारलाई शनिबार खाद्यान्न सामाग्री प्रदान गरेको हो । क्लबले प्रतिपरिवार २० केजी चामल, साढे २ केजी दाल, २ लिटर तेल, २ केजी सोयाबीन तथा १ केजी नुन वितरण गरेको जनाएको छ ।
खाद्यान्न सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)ले लायन्स क्लबले निरन्तर सम्मरीमाईमा सहयोग गर्दै आएको बताए । उनले बाढीप्रभावित नागरिकको पीडालाई बुझेर लायन्स क्लब अफ सिद्धार्थनगरले खाद्यान्न सामाग्री उपलब्ध गराउने कार्य सराहनीय भएको बताए ।
क्लबका अध्यक्ष एमजेएफ नेत्र प्रसाद आचार्यले बाढीबाट क्षति भएका परिवारलाई केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामाग्री वितरण गरिएको बताए । उनले गाउँपालिकासंग समन्वय र सहकार्य गर्दै राहत वितरण गरिएको जानकारी दिए ।
लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्रेटेजिक चिफ पीएमजेएफ धर्मराज श्रेष्ठले आगामी दिनमा पनि क्लबले यस्ता कार्यहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रम संयोजक कमल ज्ञवालीको स्वागत तथा सचिव अर्जुन पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्रेटेजिक चिफ पीएमजेएफ नवराज न्यौपाने, स्ट्रेटेजिक चिफ एमजेएफ महेशचन्द्र थापा, इभ्यालुयसन टिम हेड विनोद खरेल, जोन चेयरपर्सन विजय पाण्डे, सम्मरीमाई गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष शिव कुमार यादव, ३ का वडाअध्यक्ष सुकई प्रसाद कुर्मी, सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भिष्म न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij