२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

तिलोत्तमामा बाढी तथा डुबान पीडितलाई राहत दिन मापदण्ड तय

शनिवार , आश्विन १७, २०७७

तिलोत्तमा, १७ असोज ।
 तिलोत्तमा नगरपालिकाले असोज ९ गते राति आएको बाढी तथा डुबानबाट पीडित परिवारलाई राहत दिन मापदण्ड तय गरेको छ । स्थलगत अवलोकनपछि वातावरण तथा विपद् व्यवस्थापन समितिले तयार गरेको राहत वितरण मापदण्डलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो । मापदण्ड अनुसार संकलित लगतको आधारमा केही दिन भित्रै राहत वितरण गरिने नगरपालिकाले जनाएको छ ।

असोज ९ गते राति भारी वर्षासँगै आएको बाढी तथा डुबानबाट वडा नम्बर ११, ८, ७, १, १२ लगायतका वडाहरु सबैभन्दा बढी प्रभावित भएका थिए । सुखौरा तथा रोहिणी नदी र सिँचाई नहर आसपासका बस्ती बाढी तथा डुबानबाट प्रभावित भएका हुन् ।

विपद् व्यस्थापन समितिको बैठकले कार्यपालिका सदस्य राधा शाही संयोजक, नगरसभा सदस्यद्धय नेत्र खनाल, यमबहादुर थापा तथा इञ्जिनियर गिरीराज डुम्रे र सव–इञ्जिनियर कमल खड्का सदस्य रहेको क्षति लगत संकलन उप–समिति गठन गरेको थियो ।

उप–समितिले बुझाएको प्रतिवेदनको आधारमा विपद् व्यवस्थापन समितिले राहत वितरण मापदण्ड कार्यपालिका बैठकमा पेश गरेको समिति संयोजक एवं नगर प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । मापदण्ड अनुसार लत्ताकपडा, भाडावर्तन बगाएका पीडित परिवारलाई सात हजार, घर–गोठ आंशिक क्षति पुगेको परिवारलाई दश हजार, घर पूर्णरुपमा क्षति भएको परिवारलाई बीस हजार रुपैंयाँ राहत पाउने छन् ।

त्यस्तै गाईं भैसी मरेकोमा प्रतिगोटा पाँच हजार, बंगुर, बाख्रा मरेकोमा प्रतिगोटा पाँच सय रुपैंयाँ, धानबाली पूर्ण नष्ट भएकोमा प्रति विगाहा बीस हजार रुपैंयाँ राहत पाउने छन् । यसैगरी कुखुरा–हाँस ५० गोटासम्म तीन हजार, २५० गोटासम्म पाँच हजार, ५०० गोटासम्म सात हजार रुपैंयाँ राहत दिने मापदण्ड निर्धारण भएको छ ।

माछा पोखरीमा पुगेको क्षतिमा प्रतिपोखरी पाँच हजार रुपैंयाँ राहत दिने गरी मापदण्ड निर्धारण भएको समिति संयोजक श्रीले जानकारी दिए । त्यसै गरी विभिन्न उद्योगधन्दामा पुगेको क्षतिमा पनि राहत दिइने उनले बताए । नदी कटान नियन्त्रण, व्यवस्थापन र अल्प तथा दीर्घकालीन रुपमा समस्या समाधानको लागि नगरपालिकाले प्रदेश तथा संघीय सरकारसंग माग गर्ने उनको भनाइ छ ।

असोज ९ गते रातिको बाढीबाट समस्यामा परेका नगरवासीको उद्धारको लागि मध्यरातमै नगर प्रमुख बासुदेव घिमिरेलगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेता, टोल विकास संस्थाका पदाधिकारी, समाजसेवी घटनास्थलमा खटिएका थिए ।