२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

जनशक्ति अभावमा खेतीयोग्य जमिन बाँझै

सोमवार , आश्विन २५, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • म्याग्दी, २५ असोज ।

    लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा रोजगार खोज्दै विदेशिनेको सङ्ख्या बढ्दै गएपछि ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको छ। भएका युवा पनि विदेशिएपछि गाउँमा काम गर्ने जनशक्तिको अभाव हुँदा खेतीयोग्य जमिन बाँझै भएको हो। बाह्रैमहिना खेती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयवासीले अहिले भएका जमिन बाँझै छाडेका छन्। युवा विदेशिएसँगै गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र हुँदा खेती लगाउने समयमा जनशक्ति अभाव हुने गरेको छ। जिल्लाको बेनी नगरपालिका तथा मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा सयौं हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन्।

    सदरमुकाम बेनी बजारसँगै जोडिएको बेनी नगरपालिका– २ बगरफाँटमा मात्रै २६ हेक्टर भन्दा बढी जमिन बाँझै रहेको स्थानीय चित्रबहादुर रिजालले बताए। उनले भने, “खेती गर्न जनशक्ति पाइदैन, आफूले गर्न सकिएन, युवाशक्ति विदेश जान थाले, जग्गा जमिन बाँझै छाड्न बाँध्य छौँ।” यहाँका बासिन्दाले आफ्नै जग्गा भएर पनि सदरमुकामदेखि खाद्यन्न सामग्री किनेर ल्याउने गर्दछ। सुविधा खोज्दै केही सहरतिर पस्न थाले, केही विदेशिए, अब त गाउँ नै सुनसान हुन थालेको मालिका– ३ का जगबहादुर बुढाले बताए। अहिले यहाँ भएका युवा पनि खेती गर्न छाडेर व्यापार, व्यवसाय गर्न थालेका उनको भनाइ छ।
     
    ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन जनशक्ति अभावकै कारण बाँझिन पुगेको छ। गाउँमा अन्न उत्पादन हुने खेतीयोग्य जमिन बाँझिदै जान थालेपछि अन्न उत्पादन पनि घटदै गएको छ। शिक्षित वर्ग र पुँजी भएका सहर झरेका छन् भने रोजगारका लागि विदेशिएका परिवार पनि सुविधा खोज्दै सहरमा बसाइँ गर्न थालेपछि गाउँका घरमा बुढाबुढी मात्रै देखिन्छन्। रासस