२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

घरभाडा छुट गर्न बुटवल उद्योग वाणिज्य संघको आग्रह

मंगलवार , आश्विन १३, २०७७

बुटवल, १३ असोज । 
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलको संगमपथमा रहेको संघको भवनमा व्यवसाय गरेका व्यवसायीलाई दुई महिनाको भाडा छुट गर्ने निर्णय गरेको छ । संघको मंगलबार बसेको कार्यसमिति बैठकले संघको भवनमा व्यवसाय गरेका व्यबसायीलाई दुई महिनाको भाडा छुट गर्दै आम घरधनीलाई पनि व्यवसायीलाई सहुलियत प्रदान गर्न आग्रह गरेको हो ।

त्यस्तै घरबहाल छुट गर्ने घरधनीलाई बहालकर छुट गर्न समेत सरकार संग माग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण ६ महिना व्यापार व्यवसाय ठप्प भएकोले व्यवसायीलाई केही हदसम्म भए पनि राहत होस् भन्ने उद्देश्यले भाडा छुट गरिएको संघका अध्यक्ष खिमबहादुर हमालले बताए । संघले महामारीको समयमा आफ्नो घर भवनमा व्यवसाय गरेका उद्योगी व्यवसायीलाई घरभाडा छुट गर्न घरधनीहरुलाई आग्रह गर्दै संघले गरेको आग्रहमा सहयोग प्राप्त हुने समेत विश्वास गरेको छ ।

त्यसै गरी महामारीको समयमा गरिएको सिमानाका नियन्त्रणलाई निरन्तर नियन्त्रण गर्न समेत संघले आग्रह गरेको छ । सिमा नाकालाई नियन्त्रण गर्दा बैद्य कारोबारलाई प्रोत्साहन हुने र मुलुकको अर्थतन्त्रलाई समेत टेवा पुग्ने भएकाले सिमा नाकालाई नियमित कडाइ गर्न आग्रह गरिएको हो ।

त्यस्तै बैठकले संघले यहि असोजमा गर्ने निर्णय गरेको साधारणसभा तथा अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को स्वास्थ्य मापदण्डको कारण कार्यक्रम गर्न अनुमति प्राप्त नभएकाले असोजको २८, २९ र ३० गतेलाई तय गरेको साधारणसभा तथा अधिवेशन अर्को निर्णय नगर्दा सम्मलाई स्थगन गरिएको महासचिव दिनेश प्रसाद श्रेष्ठले जानकारी दिए ।