
बिहिवार , आश्विन २१, २०७८
भैरहवा, २१ असोज ।
रुपन्देही प्रहरीले करिब ११ लाख मूल्य बराबरको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहत प्रहरी इकाईहरुले मंगलबार र बुधबार १० लाख ९० हजार ५ सय बराबरको अवैध सामान बरामद गरेका हुन् । फेला पारिएको अवैध सामान स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।
ईलाका प्रहरी कार्यालय लुम्बिनी मातहत प्रहरी चौकी कालिदहबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१ स्थित खुनगाईबाट लु २ च ९८२८ नम्बरको पिकअपमा अवैध रुपमा ल्याउँदै गरेको २ भैसी र एउटा पाडा बरामद गरेको छ । अन्दाजी मूल्य रु. ८ लाख १५ हजार बराबरको पिकअप, र भैँसीसहित चालक रुपन्देहीको गैडहवा गाउँपालिका–३ का २८ वर्षिय मोहमद आसिफ समेतलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले विभिन्न किसिमका लत्ता–कपडाहरु र चिनी गरी २३ हजार बराबरको अवैध सामान फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाएको छ ।
त्यसै गरी वडा प्रहरी कार्यालय बुटवल रुपन्देही मातहत नगर प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–११ योगीकुटीस्थित आकाशे पुल नजिक सिद्धार्थ राजमार्गमा भारतबाट अवैध रुपमा ल्याइएका झोलामा राखेको १ लाख मूल्य बराबरको स्मोकिङ पेपर थान १०० प्याकेट बरामद गरेको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय मर्चवार मातहत प्रहरी चौकी देवेथुमुवाबाट खटिएको टोलीले सम्मरीमाई गाउँपालिका–३ तरैनी नाकाबाट लु २ प ५९९१ नम्बरको मोटरसाइकलमा ल्याउदै गरेको १ क्वीन्टल चिनी र मोटरसाइकलसहित ६६ हजार बराबरको सामान बरामद गरेको छ ।
प्रहरी चौकी मेउडिहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–२ मेउडिहवाबाट ११० पिस सर्ट र झिलिमिली लाईट १८ पिस ४८ हजार ५ सय बराबरको सामान बरामद गरेको छ ।
त्यसै गरी ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको टोलीले मायादेवी गाउँपालिका–६ गरगट्टीबाट ४ बोरा चिनी, २४ पिस पाउडर दुध, ५० किलो ब्रोईलर कुखुरा, ४ किलो चियापत्ति र १ बोरा सरफ गरी ३८ हजारको सामान बरामद गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij