२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

वातावरण संरक्षणमा शाइन रेसुङ्गा बैंकको सहकार्य

सोमवार , आश्विन १२, २०७७

बुटवल, १२ असोज । 
वातावरण संरक्षण एवं हरियाली प्रवद्र्धनमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले रुपन्देहीको बुटवल उपमहानगरपालिकासंग सहकार्य गरेको छ । बुटवलको कालिकानगरमा पर्ने सिक्सलेन सडकको बीचको मेडियन (मुख्य डिभाइडर) र लुम्बिनी बस टर्मिनल (नयाँ बसपार्क) अगाडिको ट्राफिक आइल्याण्ड क्षेत्रलाई हरियालीयुक्त र आकर्षक बनाउने कार्यका लागि बैंकले उपमहानगरसंग सम्झौता गरेको छ । 

उपमहानगरपालिकाको डिजाइन अनुसार अनेकतामा एकरुपता ल्याउने गरी सिक्सलेनको तीनसय मिटर क्षेत्रको मेडियनमा फूल बिरुवा रोप्ने र सिंचाईका लागि पानी टंकि राखेर थोपा सिंचाई गरी हरियाली बनाउने सम्झौता भएको छ । 

त्यस्तै बसपार्कको ट्राफिक आइलेण्डलाई रेलिङले सुरक्षित गरी व्यवस्थित र आकर्षक बनाउने सम्झौता पनि भएको छ । हरियाली प्रवद्र्धन र ट्राफिक आइलेण्ड व्यवस्थित गर्न लाग्ने सम्झौता अवधिको खर्च बैंकले व्यहोर्ने गर्ने गरी सम्झौता भएको हो । 

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हस्ताक्षर गरेका छन् । सो अवसरमा बोल्दै नगरप्रमुख सुवेदीले शाइन रेसुङ्गा बैंकको सहकार्यले बुटवलको वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राखे । 

बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणका लागि उपमहानगरसंग सहकार्य गरेको बताए । यसअघि बैंकले तिलोत्तमा नगरपालिकामा पनि हरियाली प्रवद्र्धन सिक्सलेन सडक किनारका पोलमा राख्न नगरपालिकालाई डस्टबिन दिएको थियो । त्यस्तै सैनामैना नगरपालिकालाई पनि डेढ सय थान डस्टबिन दिएको थियो ।