
आइतवार , आश्विन ११, २०७७
बुटवल, ११ असोज ।
बुटवल फर्निचर उद्योग संघका पदाधिकारीहरुले आइतबार प्रदेश ५ सरकार र स्थानीय सरकारलाई चारबुँदे ज्ञापनपत्र बुझाएका छन । संघका अध्यक्ष सुरेन्द्र ज्ञवालीको नेतृत्वमा निवर्तमान अध्यक्ष विष्णु प्रसाद पाण्डे, प्रथम उपाध्यक्ष तेज प्रसाद पराजुली, द्वितीय उपाध्यक्ष जिवकान्त काफले, सचिव बल बहादुर गोदारले प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन ।
सो अवसरमा संघका अध्यक्ष सुरेन्द्र ज्ञवालीले पछिल्लो समयमा देखापरेको समस्या समाधानको लागि पहल गर्न आग्रह गरे । वन जंगलमा फर्निचरजन्य काठहरु सडेर खेर गईरहेको बेला वर्षेनी अरबौका काठ विदेशबाट भित्रिरहेका जानकारी गराउँदै यसतर्फ सरकारले पहल थाल्नुपर्ने सुझाव दिए । स्वदेशी कच्चा पदार्थको समुचित प्रयोगका लागि पटकपटक आवाज उठाउँदै आएको भए पनि आवश्यक पहल नभएको उनको गुनासो छ ।
प्रदेश सरकारले सरकारी कार्यालयहरुमा स्वदेशी फर्निचर प्रयोग गर्ने नीति अवलम्बन गरे अनुरुप कार्यान्वनमा जोड दिन संघका निवर्तमान अध्यक्ष विष्णु प्रसाद पाण्डेको सुझाव छ । सरकारले ल्याउने राम्रा नीति कार्यान्वनमा समस्या हुने गरेको उनले दुखेसो गरे ।
कोभिड–१९ को विषय परिस्थितिमा मजदूर अभाव र आम फर्निचर उद्योगहरुले व्यहोर्नु परिरहेको समस्या सम्बन्धमा समेत उनले जानकारी गराए ।
संघले जारी गरेको ध्यानाकर्षण पत्रमा नेपाल सरकारले सालको काठ कटानी र ढुवानी बन्द गर्दा फर्निचर उद्योगहरु कच्चा पदार्थहरुको अभावले बन्द हुँदै गएको तर वनजंगलमा काठहरु सडेगलेर खेर गइरहेको उल्लेख छ ।
सरकारका विभिन्न निकाय तथा सामुदायिक वनहरुले यस अघि आव्हान गरेको टेण्डर बमोजिम उद्योगीले जम्मा गरेका करोडौ धरौटी रकम सरकारी खातामा जम्मा भए पनि आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने समेत उल्लेख गरिएको छ ।
तत्काल सालको काठ कटानी र बिक्री वितरण, ढुवानी सुचारु हुने वातावरण तयार गर्नुपर्ने समेत सरकारसंग माग गरिएको छ । स्वदेशमै हजारौ युवाहरु बेरोजगार बन्दै गएको तथा भारतीय मुलका कामदारहरुले खुलेआम रुपमा घरघरमा पुगेर फर्निचरको काम गरिरहेका हँदा यसलाई रोक्न स्वदेशका युवाहरुलाई तत्काल सिपयुक्त तालिम प्रदान गरी उत्पादन क्षेत्रमा व्यवस्थापन गर्ने तथा गैरकानूनी ढंगबाट काम गरिरहेकालाई यथाशिघ्र कानूनको दायरामा ल्याएर कारवाही गर्न अघि बढाउन माग गरिएको छ । त्यसै गरी बिना दर्ता काम गर्ने प्रवृति निरुत्साहित गर्न र उद्योगहरुलाई उचित संरक्षण अघि बढाउने साथै कोभिड–१९ को प्रभावले यस क्षेत्रका फर्निचर उद्योगहरुमा काम गर्ने विदेशी कामदारहरु उतै पलायन भएको हुदा स्वदेशमा सीपयुक्त जनशक्ति तयार गर्ने समावधीसम्म विदेशी कामदारहरुलाई सहज रुपमा ल्याउने वातावरण तयार गर्न माग गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij