२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

देउवा नेतृत्वको सरकारबाट ठूलो आशा गर्न सकिदैन : विष्णु पौडेल

शनिवार , आश्विन ९, २०७८

भैरहवा, ९ असोज । 
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्तमान शेर बहादुर देउवा नेतृत्वको सरकारबाट ठूलो आशा गर्न नसकिने बताएका छन् । उनले चारतिर मुख फर्काएका दलहरुको गठबन्धनको सरकारले जनता र देशको विकासका लागि काम गर्न नसक्ने बताए । सरकार कतिपय राष्ट्रिय मुद्दामा अनिर्णयको अवस्थामा रहेको उनले बताए ।

उद्योग व्यापार संगठन, रुपन्देहीको १४ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशनको शनिबार भैरहवामा उद्घाटन गर्दै नेता पौडेलले भने, ‘यो सरकारले राम्रो काम गर्ने आशा त छैन, तर सरकारले नराम्रो काम गर्न खोज्यो भने खबरदारी गर्नुपर्छ, ।‘सरकारमा सहभागि दलहरु नै विभाजित अवस्थामा रहेको उनले बताए । सतारुढ दलका नेताहरुले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता भएपछि मन्त्रीको नाम दिन्छौं भनिरहनुभएको छ, यसले के बताउँछ भने जुन अध्यादेश ल्याइएको त्यो एमालेलाई विभाजन गर्न उद्देश्यले ल्याइएको थियो । ’एमाले विभाजन गरियो भनेर आत्मरती कोही पनि नरमाए हुन्छ, कुनै तात्विक रुपमा अन्तर हुने वाला छैन, ’पौडेलले भने । 

प्रतिनिधिसभाको निरन्तरताबाट मुलुकले कुनै गति लिन नसक्ने भएका कारण ताजा जनादेशमा जानुपर्ने उनको भनाइ थियो । ‘१२–१४ महिनापछि मुलुक निर्वाचनमा जान्छ, त्यसपछि स्थिर, बलियो र अग्रगामी सरकार बनाउनुपर्छ, उनले भने । विकासका आयोजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न निगरानी गर्न आवश्यक रहेको उनको भनाइ थियो ।  सभामुख अग्नीप्रसाद सापकोटा साझा नभइ एउटा दल विशेषको कार्यकर्ताको रुपमा प्रस्तुत हुनुभएको नेता पौडेलले बताए । उनले दलीय अनुशासनमा राख्ने सार्वभौम अभ्यासकाविरुद्ध हस्तक्षेप गरेर दलहरु विभाजन गर्ने कार्यमा सभामुख लागेको आरोप लगाए । उनले रुपन्देहीमा सञ्चालित विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरुले जिल्लामा विकासका काम गति लिएको स्पष्ट भएको बताए । नेता पौडेलले भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम विभिन्न कारणले विलम्ब भए पनि अहिले पहिलो चरणको काम सम्पन्न भएर दोस्रो चरणमा आएको बताए । उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना काम अगाडी बढाउन निर्देशन दिनुभएको र सोही अनुसार विमानस्थलले थप ५ सय विघा जग्गा अधिग्रहण गरेको बताए । उनले, ‘म अर्थमन्त्री हुँदा निकास तथा विनियोजन गरेको बजेट रोक्ने काम भएको छ, कुनै प्रकारका विलम्ब मान्य हुने छैन्, विना आनाकानी योजनालाई अगाडी बढाउनुपर्छ ।’ 

ओली नेतृत्वको सरकारमा आफू अर्थमन्त्री हुँदा गरेको कामहरु स्पष्ट रहेको उनले बताए । ‘विकासका योजना कटौती÷रद्द गर्ने सरकारको जिम्मेवारी होइन, स्रोतको सही सदुपयोग गर्ने सरकारका काम हो, सञ्चालित योजनामा कुनै अवरोध भए जनसमुदायलाई साथ लिएर संयुक्त रुपमा दबाब दिनुपर्ने आवश्यकता हुन्छ, ’पोडेलले भने । 

रुपन्देहीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी मण्डप, तिनाउ–नदी कोरिडोर सडक, बेलबास बेथरी सडक, मोतीपुर औद्योगिक क्षेत्र लगायतका विभिन्न योजना अगाडी बढेको उनको भनाइ थियो । कालीगण्डकी तिनाउ डाइभर्सन आयोजना सञ्चालन गर्न खोज्दा केही मानिसहरुले बाधा सिर्जना गर्न खोजेको उनले बताए । पूर्वअर्थमन्त्री पौडेलले जिल्लाको समग्र विकासका लागि महानगरको गुरुयोजना निर्माण गरेर अघि बढ्नुपर्ने बताए । ‘विकासका आयोजनालाई रद्द गर्ने विकासविरोधी काम नगरियोस्, ’उनले भने । 

विकासका लागि तीनै तहको सरकारका जनप्रतिनिधि, नागरिक र संघ–संस्थाबीच घनिष्ट सहकार्यको आवश्यकता रहेकोमा उनले जोड दिए । रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका नेता पौडेलले साझा प्रयास र सहकार्यले जिल्लालाई चाहे जसरी विकास गर्न सकिने बताए ।  प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले गर्न नसकिने कुराहरु बोल्न नहुने बताए ।  लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले राज्यले औद्योगिक सुरक्षाको प्रत्याभुति गर्नुपर्ने बताए । उनले जनतालाई भ्रममा राखेर सफल हुन नसकिने बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उत्पादनमा आत्मनिर्भर बन्नुपर्ने बताए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले अप्ठयारो परिस्थितिका बाबजुद अगाडी बढेको बताए  ।
नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले कोभिड र राजनीतिक अस्थिरताले निजी क्षेत्र प्रभावित बनेको बताए ।

उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले उद्योग व्यवसाय लगानीमैत्री वातावरणमा उद्योगी व्यवसायीहरुलाई दर्ता प्रक्रिया झण्झटिलो भइकाले दर्ता प्रक्रियामा एकद्वार प्रणाली लागू गर्नुपर्ने बताए । संगठनका सल्लाहकार ज्ञानु पौड्यालले रुपन्देही सम्भावनै सम्भावना बोकेको जिल्ला भएको बताइन् । 

संगठनका वाणिज्य उपाध्यक्ष दर्पण श्रेष्ठको स्वागत, निवर्तमान अध्यक्ष खिम बहादुर खत्रीको धन्यवाद ज्ञापन तथा महासचिव अनिल कुमार ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_4900.JPG

यसैबीच पूर्व अर्थमन्त्री पौडेलले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ उदयपुरस्थित उद्योग व्यापार संगठनको नवनिर्मित भवनको शनिबार उद्घाटन समेत गरेका छन् । भवनको २०७७ साल कार्तिक ८ गते तत्कालिन कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले शिलान्यास गरेका थिए । अढाई कठ्ठा जग्गामा करिब चार करोडमा अढाई तल्ले भवन निर्माण गरिएको संगठनका कोषाध्यक्ष सचिन रोक्काले बताए ।