
शनिवार , आश्विन १०, २०७७
नवलपरासी, १० असोज ।
आँपको रुखबाट खसेर गम्भिर चोट लाग्दा घाइते भएका रामग्राम नगरपालिका वडा नम्बर १७ का छोटु सहानीको उपचारार्थ सहयोग रकम लिएर भैरहवाको एक सामाजिक संस्था घरमै पुगेको छ ।
रातभर परेको अबिरल बर्षाको कारण बिग्रेको सडक पार गर्दै लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीका अध्यक्ष शिवनाथ गुप्ताको टिम छोटुको घरमै पुगेर उनको स्वास्थ्य अवस्थाको जानकारि लिने तथा नगद ५१ हजार रकम सहयोग समेत गरेको छ ।
खपडाले छाएको एक कोठे घरको भित्रपट्टी आर्थिक अभाबको कारण उपचार अधुरो हुँदा छटपटाईरहेका छोटुलाई भेट्दै लायन्स क्लब अफ ३२५ बि २ स्ट्रटेजिक चिफ महेशचन्द्र थापाले भने, ‘हामी सेवा गर्ने उद्देश्यले ग्रिनसिटीको नेतृत्वमा भैरहवादेखि यहाँ आएका हौ । छोटुको थप उपचार कहाँ हुन सक्छ त्यो बुझेर थप सहयोग गर्न पनि तयार छौं ।’
थापाले हामी सेवा गर्छाै भन्ने मुख्य अभियानका साथ लायन्स अभियान सञ्चालित भएको बताउँदै समाजका हरेक क्षेत्रमा आईपर्ने मानवीय समस्या निराकरण गर्न आफुहरु सक्दो सहयोग गरिरहेको बताए । सो अवसरमा रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुंवरले स्थानीय सरकारले पनि छोटुको उपचारमा सहयोग गर्ने बताइन् । उनले भनिन, ‘लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले सहयोग गरेर पुण्य कमाएको छ । हामी रामग्राम नगरपालिकाको तर्फबाट पनि छोटुको थप उपचारमा आवश्यक सहयोग गर्न तयार छौ ।’
गत जेठ महिनामा आफ्नै घर नजिकैको आपको रुख चढेको समयमा उनी रुखबाट खस्दा टाउकोमा गम्भिर चोट लागेको थियो । उनको उपचार युसीएमएस भैरहवामा भएको थियो । उपचारको क्रममा उनको थप चिकित्सीय उपचार नभई अब उप्रान्त फिजियोथेरापि नियमित गर्नुपर्ने बताइएको छ । छोटुको थप उपचार काभ्रेको पुनर्सथापना केन्द्र तथा उपचार केन्द्र र काठमाडौंको न्युरो अस्पतालहरुमा मात्रै सम्भव रहेको बताइएको छ । टाउको गम्भिर चोटको कारण उनी दिशा पिसाब, खानपिन पनि आफै गर्न सक्दैनन । रकम अभावले गर्दा उनी थप उपचारको लागि काठमाण्डौ जान नसकेको परिवारले बताएका छन ।
घरमै पुगेर सहयोग गर्न पाउँदा आफुहरुलाई अत्यन्तै खुशी अनुभुति भएको क्लबका अध्यक्ष शिवनाथ गुप्ताले बताए । उनले भने, ‘क्लबका सदस्यहरुबाट उठेको रकम छोटुको घरमै आएर उनको परिवारलाई भेटेर हस्तान्तरण गर्दा खुशी लागेको छ । उनको थप उपचारमा ढिलाई नहोस् भनी सरोकारवालासंग पनि समन्वय गरिरहेका छौं ।’
क्लबका द्वितीय उपाध्यक्ष नरेश के.सी.को संयोजन तथा सचिव भिम बहादुर थापाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्य, रामग्राम जेसिस पूर्व अध्यक्ष प्रभा ज्ञवाली, बुटवल लेडी जेसिस पूर्व अध्यक्ष लक्ष्मी थापा लगायतका क्लबका सदस्यहरुको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij