
बुधवार , आश्विन ७, २०७७
भैरहवा, ७ असोज ।
दुवै मृगौलाले काम नगर्ने भई विरामी रहेका एक युवाको उपचारका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ ।
पाल्पाको तानसेन नगरपालिका–१४ टिपुरे अर्गली निवासी ४६ वर्षिय झपिन्द्र लाल पाण्डेको उपचारका लागि विभिन्न ठाउँबाट सहयोग जुटिरहेको छ । पाल्पाको अर्गली, केरवादी, रुपन्देही, भारत तथा विदेशबाट पनि नगद सहयोग जुट्ने र जुटाउने काम भइरहेको छ ।
आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा समस्या परेको भन्दै आफन्त, इष्टमित्रबाट सहयोग लिएर पाल्पा तानसेनको एक अस्पतालमा अहिले उनको उपचार भइरहेको छ ।
विभिन्न व्यक्ति र ठाउँबाट संकलन भएको ४ लाख ३ हजार २ सय १३ रुपैयाँ एक कार्यक्रमकाबीच शुक्रबार हस्तान्तरण गरिएको छ ।
पाण्डे कुलपुजा समिति रुपन्देहीका सचिव एवं सञ्चारकर्मी शंकर पाण्डेले सो रकम मृगौलापीडित झपिन्द्र लाल पाण्डेलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै पाण्डेले ‘झपिन्द्र पाण्डे बचाउ अभियान’ नै सन्चालन गरी सहयोग संकलन गरिएको बताए ।
सहयोग रकम बुझ्दै मृगौलापीडित पाण्डेले आफु बांच्न चाहेको र यो सहयोगले हौसला मिलेको बताए । कार्यक्रमको अभियानमा रुपन्देही र पाल्पाबाट सहयोग संकलनमा सहभागी हेमन्त बस्याल, भोजराज पाण्डे, रमा पाण्डे, अन्जु भट्टराई, मोहन पाण्डे, मनिरतन पाण्डे, गंगाराम पाण्डे, टीकाराम पाण्डे, दिवाकर पाण्डे लगायतको सहभागिता रहेको थियो ।
झपिन्द्रलाल पाण्डे बचाउ अभियानलाई भारतको मुम्बईबाट शिव बस्याल, चेन्नेइबाट यादव पाण्डे, ओम भण्डारी, पुजन पाण्डे दुवईबाट शिव पाण्डे र न्युजिल्यान्डबाट टीका पाण्डेले विशेष रुपमा सहयोग जुटाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij