images

बुधवार, बैशाख १२ गते २०८१

तीज पर्वलाई समयसापेक्ष बनाउने कि !

तीज पर्वलाई समयसापेक्ष बनाउने कि !

images
images
images
बिहिवार, भाद्र २४ २०७८
बिहिवार, भाद्र २४ २०७८
  • तीज पर्वलाई समयसापेक्ष बनाउने कि !

    हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज एउटा महत्वपुर्ण चाडको रुपमा लिइन्छ । हरेक संस्कृति, परम्परा, रितिरिवाज, चाडपर्वको आ–आफनै किसिमको ऐतिहासिक मुल्य मान्यता रहिआएको हुन्छ । तीज पर्वको पनि परम्परागत, धार्मिक र सांस्कृतिक रूपले विशेष महत्व रहेको छ । हिन्दू धार्मिक शास्त्र अनुसार हिमालकी पुत्री पार्वतीले महादेव शिवलाई आफ्नो स्वामी बनाउन भनी व्रत बसेर शिवलाई पतिको रूपमा प्राप्त गरेको सो दिनलाई हरितालिका तीज पर्वको रुपमा मनाउदै आएको कुरा उल्लेख गरेको पाइन्छ । 

    images

    भाद्र शुक्ल तृतीयाका दिन तीज मनाउने गरिन्छ । तीजको पहिलो दिन मीठो चोखो (दर) खाएर भोलिपल्ट निर्जल निराहार, उपवास अर्थात व्रत बसेर श्रीमानको दीर्घायू, सुस्वास्थ्य प्रगतिको कामना गर्दा आफ्ना माग पूरा हुने विश्वास गर्दछन् । साथै आफूलाई भएका घरेलु हिंसा, अन्याय, शोषण, अत्याचार, पीडा र उत्पीडनका वेदनाहरु एक अर्कोमा सामूहिक भावनालाई गीतको माध्यमले साटासाट गर्ने र नृत्य गर्दै खुशीयाली र शुभकामना आदानप्रदान गर्ने गरी मनाइन्छ । तीज पर्वलाई हिन्दू महिलाहरुको मात्र पर्व भनेर भनिए तापनि समग्र नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदिको पहिचान बोकेको पर्वको रुपमा स्थापित भएको छ । समयको परिवर्तनसंगै तीज पर्वमा पनि व्यापक परिवर्तन भएको छ ।

    पहिले पहिले मनाइने तीज र अहिले मनाउने तीजमा धेरै भिन्नताहरु देखा परेका छन् । हुन त परिवर्तन भन्ने कुरा निरन्तर चलिरहने प्रक्रिया हो वा प्राकृतिक नियम हो । सामाजिक मूल्य मान्यता र अन्तरक्रियाको पद्दति अर्थात सामाजिक संगठन कार्यभारको रुपान्तरण नै सामाजिक परिवर्तन हो ।  वर्तमान परिप्रेक्षमा समयको परिवर्तनसंगै मानिसहरुमा विचार र शैलीहरु पनि परिवर्तन भएका छन । हिजोको परिवेश, समय, राजनीतिक ब्यबस्था र महिलाहरुको अवस्था बेग्लै थियो । महिलाहरु शैक्षिक, राजनैतिक, सामाजिक, आर्थिक, लैंगिक जस्ता थुप्रै सामाजिक विभेदमा पिल्सिएका थिए । मुलुकमा राजनैतिक परिवर्तन संगै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा महिलाको अधिकार, समानुपातिक एवं समावेशी सहभागिता, राज्यसत्तामा पहुँच, शैक्षिक, आर्थिक जस्ता हरेक क्षेत्रमा महिलाहरुको सहभागितालाई जोड दिदै आएको छ । यसरी महिलाहरुलाई सशक्तिकरण गर्न यो तीज पर्वले महत्वपूर्ण भूमिका खेलेको छ भन्दा युक्तिसंगत होला ।   

    आज महिलाहरु हरेक क्षेत्रमा र हरेक विषयमा जानकार छ्न, सचेत छन र अवल एवं सक्षम छन । महिलाहरुको चेतनामा आएको परिवर्तनले तीज पर्वको संस्कृतिमा पनि परिवर्तन ल्याएको छ । नेपालमा भइरहेको शहरीकरण र आधुनिकरणले के गाउँ, के शहर सबै क्षेत्रमा बसोबास गर्ने सबै वर्गका र धेरै समुदायका अधिकांश महिलाहरूले हरितालिका तीजको अवसर पारी पाटी प्यालेस, महंगो होटल र रेष्टुरेण्टहरुमा तीज मनाउने गर्दछ्न । यसरी होटल, रेष्टुरेण्ट र पाटी प्यालेसमा तीज मनाई रहदा महंगो लुगा साडी, परिकार, गरगहनाको होडबाजी, वर्गिय विभाजन, गीत संगितमा अश्लिल शब्दको प्रयोग भएकोले तीज पर्वमा विकृति, विसंगति मौलाएको र आफ्नो मौलिकता संस्कृति हरायो भन्ने जस्ता विचारहरु व्यापक आएको छ । तीज पर्वमा आएको परिवर्तनलाई जसरी बुझे पनि महिलाहरुमा आएको सशक्तिकरण नै हो भन्न सकिन्छ । नेपालको विभिन्न कालखण्डमा भए गरेका राजनीति आन्दोलनहरुमा महिलाहरुले अग्रणी भूमिका खेल्दै आएकोले नै महिलाहरुमा राजनैतिक, सामाजिक, आर्थिक, शैक्षिक क्रियाकलापमा सक्रिय भएकोले विभिन्न आमा समूह, महिला समूह तथा संघ–संस्थाहरुको स्थापना गरी आफूलाई नेतृत्वदायी भूमिकामा प्रवाह गरेकोले नै तीज पर्वलाई एक महिनादेखि मनाउने गरिएको हो ।  महिला घरको चुलोचौकाको काम अलावा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आर्थिक र रोजगारसंग पनि गासिएकोले उनीहरु पुरुष भन्दा बढी व्यस्त हुने गर्दछन । व्यस्तताले गर्दा सरसमान जुटाउन नपर्ने, ठाउँको अभाव नहुने, झन्झटिलो नहुने, पकाउनु नपर्ने (क्याटरिङको व्यवस्था हुने) सुविधायुक्त हल, गर्मीमा एसिको व्यवस्था भएकोले नै तीज पाटी प्यालेस, होटल र रेष्टुरेण्टमा मनाउन थालिएको हो, रुचाइएको हो । आफ्नो दक्ष र गक्ष अनुसारको कपडा, गरगहना लगाउँदैमा; विद्युतीय उपकरण र साधनको उपयोग गर्दैमा मीठो चोखो खाँदैमा र आधुनिकरणलाई महिलाले आत्मसात गर्दैमा मौलिक परम्परा हराउने र संस्कृतिमा विकृति विसंगति हँुदैन । आधुनिकताको नाममा हराउदै आफ्नो मौलिक संस्कृतिलाई तिलान्जली दिन कसैले सक्दैन । मानिसले हरेक परिवर्तनलाई स्वीकार्दै आफूलाई परिमार्जन गर्दै लैजान सक्नुपर्छ । परिवर्तनले समय अनुसार बिस्तारै हरेक संस्थाहरुमा प्रभाव पार्दै जान्छ र परिवर्तित हुन पुग्छ । परिवर्तनले मानव समाजमा सकारात्मक र नकारात्मक दुवै खाले असर गर्छ । जो सबैले सहर्ष स्वीकार्नुपर्दछ । चाडपर्व रितिरिवाजमा यसरी परिवर्तन आउनुमा आधुनिकता एंव विकास, पश्चात्य संस्कृतिको प्रभाव, शहरीकरण, शिक्षा, रोजगार विश्व व्यापारीकरण, सामाजिक हेलमेल, एक अर्कामा अन्तरसम्बन्धको दायरा फराकिलो हुनु, सञ्चारको विकास हुनु, बसाइँसराइ, परम्परागत मूल्य मान्यता प्रचलनमा पुर्नमुल्यांकन हुनु, जातीय व्यवस्था कमजोरी हुँदै जानू, मानवीय मनोविज्ञान र दृष्टिकोणमा परिवर्तन आउनु, कानूनको विकास हुनु र महिलाहरुमा चेतनाको विकास हुनु प्रमुख कारण हुन् । 

    नेपाली महिलाहरुको पर्व हरितालिका तीज एक महिनादेखि मनाउने गरे पनि जति नै आधुनिकताले छोए पनि कतिपयले यसलाई भड्किलो भनिए पनि तीज पर्वमा संस्कृति विकृति भयो  भन्नू किमार्थ श्रय हुदैन । बदलिँदो समयसंगै तीज पर्वको संस्कार र संस्कृतिमा निकै परिवर्तन आए तापनी यस पर्वको महत्वमा खासै कमी ल्याएको छैन बरु झनै महत्व व्यापक बढदै गएको छ । झ्याङ्गिदै गएको छ  । यसरी महिना दिनसम्म महिलाहरु रमाउँदै खुशीयालीको माहौलमा नाच्ने देश सायद संसारमा हाम्रो नेपाल होला । त्यसैले हाम्रो संस्कृति चाडपर्वप्रति सम्मान गर्नुपर्छ । परम्परालाई जीवन्त राख्न जरुरी छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij