
मंगलवार , आश्विन ६, २०७७
परासी, ६ असोज ।
नेपाल–भारत महिला मैत्री समाजले बाढी प्रभावित परिवारलाई व्यस्थित टेन्ट र त्रिपाल वितरण गर्न सम्बन्धित स्थानिय तहलाई उक्त सामाग्री हस्तान्तरण गरेको छ । समाजले नवलपरासीका बाढीप्रभावित घरपरिवारहरुलाई राहतका लागि भारतीय दुतावासबाट सहयोग प्राप्त उक्त टेन्ट÷त्रिपाल सरावल र प्रतापपुर गाउँपालिकालाइ हस्तान्तरण गरेको हो ।
गाउँपालिकाहरुलाई हस्तान्तरण गरिएको टेन्ट र त्रिपाल बुधबार (भोलि) पीडित परिवारको घरदैलोमा लगि वितरण गरिनेछ । नेपाल भारत महिला मैत्री समाजका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले भारतीय दुतावाससंग व्यक्तिगत पहल गरी ल्याएकोे आधुनिक व्यस्थित टेन्ट र त्रिपाल जिल्लाको १०५ जना बाढीप्रभावित परिवारलाई वितरण गरिनेछ ।
जिल्लाको सरावल गाउँपालिका वडा नम्बर ६ र ७ का ७५ जना बाढी प्रभावित र प्रतापपुर गाउँपालिका ३ का ३० जना बाढी प्रभावितहरुलाई उक्त टेन्ट र त्रिपाल वितरण गरिनेछ ।
मंगलबार एक कार्यक्रमकाबीच प्रमुख अतिथि सांसद चन्दा चौधरीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सरावल र प्रतापपुर गाउँपालिकालाई उक्त राहत सामाग्री हस्तान्तरण गरेकी छन् ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद चन्दा चौधरीले यसै संस्थाद्धारा जिल्लासहित विभिन्न जिल्लाहरुमा यस्तै राहत सामाग्री वितरण भइरहेको र आगामी दिनमा पीडित घरपरिवारलाई थप राहतका सामाग्रीहरु वितरण गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले यो राहत सामाग्रीबाट लक्षित पीडित वर्गलाई निकै सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी, प्रतापपुर गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीले राहत सामाग्री लक्षित वर्गलाई वितरण गरिने र थप यस्तै किसिमको सहयोगको आवश्यक्ता रहेको बताए । हस्तान्तरण गरिएको टेन्ट र त्रिपाल समाजका अध्यक्ष एवं सांसद चन्दा चौधरीको विशेष पहलबाट भारतीय दुतावासबाट प्राप्त भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij