
मंगलवार , भाद्र १५, २०७८
भैरहवा, १५ भदौ ।
लायन्स क्लब अफ सिद्धार्थनगरले देवदहका बाढीप्रभावित परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । अविरल वर्षाका कारण डुबान र बाढीबाट प्रभावित देवदह नगरपालिका वडा नम्बर २ स्थित पेटवनिया र वडा नम्बर ३ स्थित बसन्तपुरका ३० घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो । बसन्तपुरका १८ र पेटवनियाका १२ घरपरिवारलाई सामग्री वितरण गरिएको खाद्यान्न वितरण कार्यक्रम संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष चन्द्र बहादुर थापाले बताए ।
प्रतिपरिवार चामल २५ केजी, दाल २ केजी, तेल १ लिटर, सोयाबीन २ केजी र नुन १ केजी वितरण गरिएको क्लबका निवर्तमान अध्यक्ष नेत्र प्रसाद आचार्यले जानकारी दिए ।
बाढीपीडितलाई राहत वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गर्भनर बाढीप्रभावितको घाउमा केही भए पनि मल्हम लगाउन सकियोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको बताए । उनले बाढीले क्षति पुर्याएकाले राज्यले पनि प्रभावितको समस्या सम्बोधन गर्नुपर्ने माग गरे । न्यौपानेले स्थानीय सरकारले पनि बाढीप्रभावितलाई भएको क्षतिबारे विवरण संकलन गरेर राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२१÷२२ का अध्यक्ष भीष्म प्रसाद न्यौपानेले देवदहका बाढीप्रभावितबारे जानकारी आएपछि खाद्यान्न सामग्री लिएर पुगेको बताए । उनले अविरल वर्षाका कारण पक्की घरमा समेत बाढी पसेको र क्षति पुर्याएको बताए । उनले लायन्स क्लब अफ सिद्धार्थनगरले विपद् तथा भवितव्यमा सहयोग गर्दै आएको बताए ।
देवदह नगरपालिका वडा नम्बर ३ का वडा सदस्य लिला दर्जीले बाढीप्रभावित परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराउने लायन्स क्लब अफ सिद्धार्थनगरलाई धन्यवाद व्यक्त गरिन् । उनले वडा नम्बर ३ मा अविरल वर्षाका कारण ४ वटा घरमा पूर्ण रुपमा क्षति भएको बताइन् । पूर्ण रुपमा क्षति भएका घरका परिवारका सदस्य आफन्तको घर तथा डेरामा बसेको उनले बताइन् ।
देवदह–२ का वडा सदस्य तिलक बहादुर गुरुङले बाढीप्रभावितको घरदैलौमा पुगेर खाद्यान्न सामग्री वितरण गर्ने लायन्स क्लब अफ सिद्धार्थनगरलाई धन्यवाद व्यक्त गरे । लायन्स सिद्धार्थनगर वर्ष २०२१÷२२ का सचिव धर्मराज आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij