२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

गृहमन्त्री खाँणद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिबारे जानकारी

बुधवार , भाद्र ९, २०७८

काठमाडौं, ९ भदौ ।
गृहमन्त्री बालकृष्ण खाँणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिएका छन्  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमा बोलाएर आज विमानस्थलको प्रगतिबारे जानकारी लिएका हुन् ।

मन्त्री खाँणको जिज्ञासामा सचिव कोइराला र महानिर्देशक पोखरेलले क्यालिवेशन फ्लाइटका लागि भारतलाई आग्रह गरिएको र भारतीय टोली आएर काम पूरा गरेपछि तीन महिनामा उद्घाटन गर्न सक्ने अवस्थामा पुग्ने जानकारी गराएका छन् । अन्य आवश्यक पर्ने भवन र भौतिक संरचना तयार भएका र फिनिसिङको काम भइरहेको जानकारी दिए ।

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरुआत भएपछि आन्तरिक उडानमा कस्तो चाप पर्छ भन्ने मन्त्री खाँणको जिज्ञासामा महानिर्देशक पोखरेलले खासै असर नगर्ने जानकारी गराएका थिए । विमानस्थल निर्माणको प्रगति, देखिएका समस्या, अन्तर्राष्ट्रिय उडान र अवतरणमा देखिने समस्या तथा राजनीतिक तहबाट समाधान गर्ने विषयबारे मन्त्री खाँणलाई अवगत गराएका थिए । रासस