२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

‘सरकारले तोकेअनुसार भाडा पाउन सकेनौं’

सडकमा सुतेर भए पनि ओभरलोड रोक्छौं : व्यवसायी

आइतवार , भाद्र ६, २०७८

भैरहवा, ६ भदौ ।
भारतीय ओभरलोड सवारीसाधनका कारण नेपाली व्यवसायी मर्कामा परेको भन्दै सडकमा सुतेर भए पनि ओभरलोड रोक्ने व्यवसायीहरुले चेतावनी दिएका छन् । उनीहरुले भारतीय गाडीले ओभरलोड बोकेका कारण नेपाली गाडीले भाडा पाउन नसकेको गुनासो गरेका छन् । सरकारले ओभरलोड रोक्ने कार्यमा चासो दिन नसकेको उनीहरुको भनाइ छ ।

लुम्बिनी प्रदेश नेपाल ट्रक यातायात व्यवसायी समिति एवं ढुवानी व्यवसायी समितिले शनिबार रुपन्देहीको ओमसतिया–२ पडसरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै व्यवसायीहरुले भारतीय गाडीको ओभरलोड, अस्वस्थ प्रतिष्पर्धाका कारण समस्या भएको बताएका छन् । नेपाल ट्रक यातायात व्यवसायी समितिका केन्द्रीय उपाध्यक्ष लोकराज पोखरेलले भारतीय गाडीलाई निरुत्साहित गर्नुपर्ने बताए । उनले सरकारले भाडा समायोजन गरे पनि भारतीय गाडीसंग प्रतिष्पर्धा गर्न नसकेका कारण तोकिएको भाडा समेत लिन नसकेको बताए । ‘नेपालमा ५५ लाखमा पाउने गाडी भारतमा २८ लाख पर्छ, हामीले पुँजी बढी लगाउनुपरेको छ, टायर लगायतका सामान भारत र चीनबाट आउँछ, गाडीका सामग्री महंगोमा पाइन्छ, त्यसैले भारतीय गाडीसंग प्रतिष्पर्धा गर्न सकेका छैनौं, ’उनले भने । केही नेपाली व्यवसायीले पनि गाडीमा ओभरलोड बोकेर कम भाडामा जाने कारण स्वस्थ प्रतिष्पर्धा गर्ने व्यवसायीले मालसामान बोक्न नपाएको उनले बताए ।

नेपाल ट्रक यातायात व्यवसायी समितिका निवर्तमान अध्यक्ष अर्जुन रानाभाटले नेपाल सरकारले तोकेबमोजिम भाडा प्राप्त गर्न नसकेको बताए । उनले २०६८ पछि हालै मात्र भाडा समायोजन भए पनि भाडा प्राप्ती हुन नसकेको बताए । ‘भाडा प्राप्तीको प्रयास गर्नेबित्तिकै हामीलाई सिण्डिकेटको बिल्ला भिराइन्छ, तर सिण्डिकेट गर्ने हाम्रो कुनै मनसाय छैन, सरकारले तोकेको भाडादर पाउनुपर्छ भन्ने हाम्रो माग हो, ’उनले भने । एउटा सरकारी निकायले अर्को निकायलाई दोषारोपण गर्दा ट्रक यातायात व्यवसायीका समस्या समाधान हुन नसकेको उनले बताए । नेपाल सरकारको नियम व्यवसायीले मात्र मान्नुपर्ने हो भन्दै उनले प्रश्न गरे । उनले गाडीले बोक्ने मालसामानको बीमा हुनुपर्ने बताए ।

नेपाल ट्रक यातायात व्यवसायी  समिति लुम्बिनी प्रदेशका अध्यक्ष यम प्रसाद पाण्डेले ओभरलोड गर्ने र निर्धारित भाडादर भन्दा कम भाडा लिने ट्रकको बीमा संस्थाले नव्यहोर्ने र संघ संस्थाबाट खारेज गर्नेसम्मको कदम चाल्ने जनाए ।

लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद खरेलले आफूहरुमाथि बारम्बार सिण्डिकेटको आरोप लगाइएको गुनासो गरे । उनले भारतीय गाडीले सडकको क्षमता भन्दा बढी भार बोक्दा ठाउँठाउँमा भत्किएको बताए । ‘नेपाली ट्रक यातायात व्यवसायीमाथि अत्याचार भएको छ, ’उनले भने । ढुवानी व्यवसायी समिति रुपन्देहीका अध्यक्ष श्यामराज हमालले आफूहरुले परिश्रमको मूल्य पाउन नसकेको गुनासो गरे ।

ट्रक यातायात तथा ढुवानी व्यवसायीको माग सरकारले सम्बोधन गर्नुपर्ने समाजसेवी प्रख्यात बन्जाडे बताउँछन् । भारतीय सवारीसाधनले बोक्ने ओभरलोडका कारण नेपाली व्यवसायी मर्कामा परेकाले यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बन्जाडेको भनाइ छ ।