
बिहिवार , श्रावण २८, २०७८
बुटवल । लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउदै छ। मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेर राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आज दिउसो ३ बजेसम्मको समय दिएका छन्।
प्रदेश प्रमुख सेरचनले दुई वा दुईभन्दा बढी दलको सरकार गठन गर्न प्रदेशसभामा रहेका दलहरूलाई आहृवान गरेका हुन्। संविधानको धारा १८८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई साउन २८ गते ३ बजेसम्म दाबी पेश गर्न आहृवान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
नयाँ सरकारका लागि अहिले सम्म बिपक्षी गठबन्धनले मात्र दावि पेश गर्ने तयारी छ। बिपक्षी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रुपमा अगाडि सारिएको छ।
विपक्षी गठबन्धनले तेस्रो पटक अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शंकर पोखरेलले पद छाडेका हुन्। साउन १६ गते नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, र राष्ट्रिय जनमोर्चाका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। अश्विासको प्रस्तावमा छलफल गर्न बुधबारका लागि विशेष अधिवेशन आहृवान भएको थियो। विशेष अधिवेशन अन्तर्गतको बैठक सुरु हुनै लाग्दा पोखरेल राजीनामा बोकेर प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।
तेस्रो पटकको अविश्वासको प्रस्तावमा विपक्षीले मुख्यमन्त्री पोखरेललाई राजीनामा दिन बाध्य बनाएका छन्। पहिलो पटक वैशाख ६ गते विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। अविश्वासको प्रस्तावको लागि वैशाख १९ गतेका लागि प्रदेशसभा बैठक आहृवान भएको थियो। बैठक आहृवान भएकै दिन मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका थिए। बैठक सुरु नहुँदै प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गराएका थिए।
त्यसबेला जनता समाजवादी पार्टीको तत्कालीन उपेन्द्र यादव समूहले जसपाका चार सांसदलाई कारबाही गरेको थियो भने माओवादीले एमालेमा गएका दुई सांसदलाई कारबाही गरेको थियो। अन्य पार्टीका ६ सांसद पदमुक्त भएको अवस्थामा एमाले बहुमतमा देखिएको थियो।
राजीनामा दिएपछि त्यसै दिन मुख्यमन्त्री पोखरेलले तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष बहुमतको मुख्यमन्त्रीमा दाबी गरे। उनको दाबीपछि नेकपाबाट उपचुनाव जितेकी प्रदेशसभा सदस्य विमला खत्री वलीले नेकपा माओवादीमा आबद्ध भएको घोषण गरेकी थिईन। अर्का एमाले सांसद दृघनारायण पाण्डेयले राजीनामा दिए। पोखरेलको दाबी अल्पमतमा परेको र आफ्नो पक्षमा बहुमत रहेको भन्दै नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीले पनि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी गरेका थिए।
पोखरेललाई नियुक्त गर्न नदिन विपक्षी दलले प्रदेश प्रमुखको कार्यालयमा धर्नासमेत बसेका थिए। तर पोखरेलले प्रदेश प्रमुखलाई आफ्नो कार्यालयमा ल्याएर मुख्यमन्त्रीको शपथ ग्रहण गराएका थिए। दोस्रोपटक वैशाख २६ गते शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो। तर, प्रदेश प्रमुखले अधिवेशन नै बोलाएनन्।
केन्द्रमा केपी ओलीको सरकार बहिर्गमन भएर शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि लुम्बिनीमा पनि प्रदेश प्रमुख परिवर्तन भयो। तेस्रो पटकको अविश्वासको प्रस्तावमा मुख्यमन्त्री शंकर पोखरेल गलेका हुन्। आफूविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव पारित हुने अवस्था देखेपछि पोखरेलले त्यसको सामना नगरी राजीनामाको बाटो रोजेका हुन्।
पोखरेल २०७४ फागुन ३ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका थिए। संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई दल (एमाले र माओवादी केन्द्र) को समर्थनसहित उनी मुख्यमन्त्री बन्दा निकै सहज थियो। तर, पाटीीभित्रको विवादले उनको सरकार ढल्न पुगेको हो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij