
शनिवार , भाद्र २०, २०७७
भैरहवा, २० भदौ ।
रुपन्देही जिल्लामा आइतबार (भोलि) देखि दैनिक सात घण्टा व्यापार व्यवसाय सञ्चालन हुने भएको छ । जिल्लामा बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म मात्र व्यापार व्यवसाय सञ्चालन हुनेछ । उद्योग व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेबमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने स्वास्थ्य सम्बन्धि क्रियाकलापहरु अपनाउनुपर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । त्यस्तै उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक/कामदार ओसारपोसार गर्न नपाइने प्रशासनले जनाएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले शनिबार आदेश जारी गर्दै भदौ २१ गतेदेखि २८ गते राती १२ बजेसम्म बन्दाबन्दी (लकडाउन) हुने बताएका छन् । प्रशासनले दैनिक उपभोग्य वस्तु र सेवा बिहान ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ । त्यसबाहेक अन्य औषधीजन्य वस्तु र सेवा निरन्तर सञ्चालनमा हुनेछन् ।
त्यस्तै लकडाउन अवधिसम्म सबै सरकारी कार्यालयहरु भिडभाड नहुने व्यवस्था मिलाएर सुरक्षा तथा स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गरी सेवा प्रवाह गर्नुपर्ने व्यवस्था मिलाउन प्रशासनले भनेको छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भिडभाड नहुने व्यवस्था मिलाई नियमित सेवा दिन सक्नेछन् ।
लकडाउन अवधिमा सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, हाटबजार, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, मनोरञ्जनस्थल, शैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, खेल प्रस्तुती, पुस्तकालय, संग्रहालय, शैक्षिक संस्था, प्रशिक्षण केन्द्, ट्युशन सेन्टर, भाषा कक्षा सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ । त्यस्तै क्वारेन्टाइन तथा आइसोलेशनका लागि बाहेक अन्य होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ ।
त्यसै गरी जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने तर मुख्य राजमार्गहरु सञ्चालन रहने प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला तथा जम्मा हुन र भिडभाड/सभा गर्न निषेध गरेको छ । त्यस्तै घरबाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दुरी कायम गर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ ।
लकडाउन अवधिमा उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने तथा सहज आपूर्तिमा अवरोध गर्नेमाथि कानून बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।
प्रशासन कार्यालयद्वारा जारी आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानून बमोजिम कारवाही हुने कार्यालयले स्पष्ट पारेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij