
मंगलवार , आषाढ २९, २०७८
भैरहवा, २९ असार ।
भानु जयन्तीको अवसर पारेर सामाजिक डिभिजन कार्यालय भैरहवाले विद्यालय र शिक्षकलाई सम्मान गरेको छ । रुपन्देही र नवलपरासी कार्य क्षेत्र रहेको डिभिजन कार्यालयले यस क्षेत्रका उत्कृष्ट २ सामुदायिक विद्यालय र १९ उत्कृष्ट शिक्षकलाई सम्मान गरेको हो । शिक्षा तथा सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत रहेको डिभिजन कार्यालयले शिक्षा तथा सामाजिक विकास मन्त्री धर्मबहादुर लाल श्रीवास्तवको उपस्थितिमा नगदसहित सम्मान गरेको छ ।
उत्कृष्ट विद्यालयको रुपमा रुपन्देहीबाट कान्ति मावि बुटवल र नवलपरासीबाट महाकवि देवकोटा मावि सुनवल रहेका छन् । दुवै विद्यालयलाई २ लाख ७५ हजार मुल्य बराबरको कार्यक्रम पुरस्कार स्वरुप प्रदान गरिएको डिभिजन कार्यालय प्रमुख दिवाकर भण्डारीले जानकारी दिए । त्यस्तै उत्कृष्ट शिक्षकतर्फ रुपन्देहीका १४ र नवलपरासीका ५ शिक्षक जनही नगद रु. २० हजारले पुरस्कृत भएका छन ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा तथा सामाजिक विकास मन्त्री धर्मबहादुर लाल श्रीवास्तवले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गरी अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले यस्ता प्रोत्साहनका कार्यक्रम आयोजना गरिएको बताए । ‘शिक्षाको ज्योति छर्ने विद्यालय शिक्षक पुरस्कृत हुनु राम्रो हो, तर यसै गरी विद्यार्थीहरुको परिणाम पनि उत्कृष्ट आउनुप¥यो भन्त्री श्रीवास्तवले भने । ’उनले सामूदायिक विद्यालयमा शिक्षक प्रतिष्पर्धा गरेर नै आएकोले मिहिनेत र कर्मले पुरस्कृत भएकोमा बधाई दिदै यो चुनौतीलाई जोगाइराख्न अनुरोध गरे । मन्त्रालयले गत वर्षबाट नै पुरस्कारको व्यवस्था ल्याए पनि व्यापकता नपाएकोले यस वर्ष डिभिजन कार्यालय मार्फत १९ शिक्षक, २ विद्यालय र एक जना सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ । यसलाई आगामी दिनमा पनि मन्त्रालयले निरन्तरता दिने उनले बताए ।
शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निर्देशक टीकारामअर्यालले शिक्षक सिकाईलाई अन्तरक्रियात्मक बनाउने वातावरण सृजना गर्नुपर्ने बताए । अहिलेको पुरस्कार निष्पक्ष तरिकाले कामको सम्मान स्वरुप हो । ‘शिक्षकलाई अझै जिम्मेवारीवोध भई उत्कृष्ट काम गर्नका लागि यो जिम्मेवारी थपिएको हो, ’उनले भने ।
कार्यक्रममा मन्त्रालयका सचिव तथा माहादेव पन्थले भने, ‘विद्यार्थी फेल हुनु भनेको विद्यार्थी एकल फेल हुनु मात्र नभई समग्र शिक्षक, विद्यालय, पाठ्यक्रम सबै फेल हुनु हो ।’
शिक्षा प्राणली नै त्रुटीपुर्ण रहेकोले यसलाई समय सापेक्ष बनाउदै लैजानुपर्नेमा सचिव पन्तको जोड थियो । शिक्षा नीति तथा शिक्षकको परम्परागत शिक्षण पक्ष परिवर्तन नगरेसम्म यसको सााधान नहुने भएकोले समग्र शिक्षा प्रणालीलाई सुधार गर्ने विषयमा मन्त्रालय लागेको उनले बताए । पहिलेको तुलनामा अहिले सामुदायिक विद्यालयमा भर्ना दर बढेकोले यो सकारात्मक पक्ष भएको बताए । प्रदेश सरकारको सोच समग्र प्रदेश सुखी जनता भन्ने नाराका साथ भएको सम्मान कार्यक्रमको संचालन शाखा अधिकृत श्याम न्यौपानेले गरेका थिए ।
सो अवसरमा पुरस्कृत विद्यालयको तर्फबाट महाकवि देवकोटा, विद्यालय सुनवलका व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्याल, शिक्षकको तर्फबाट नहरपुर माविका प्रधानाध्यापक धनिश्वर गौतम, भुल्के मावि
तिलोतमाका प्रधानाध्यापक दुर्गा सापकोटाले बोल्दै पुरस्कारले पेशमा थप जिम्मेवारी बोध भएको बताए । सामाजिक विकास डिभिजन कार्यालका प्रमुख दिवाकर भणडरीको स्वागत तथा शिक्षा कार्यालयका शाखा अधिकृत श्यामलाल न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
पत्रकार सम्झना शर्मा सम्मानित
सामाजिक डिभिजन कार्यालय भैरहवाले पत्रकार सम्झना शर्मालाई सम्मान गरेको छ । कार्यालयको स्थापना कालदेखि सक्रियरुपमा कार्यालयका गतिविधि आम नागरिक सामू समाचारको माध्यमबाट प्रवाह गरेको भन्दै शर्मालाई सम्मान गरेको हो । शर्मा हाल भैरहवा संचार गृहद्धारा सञ्चालित भैरहवा एफ.एम., भैरहवा टेलिभिजन, अभियान दैनिक, नारीबिम्ब लगायतका मिडियामा आवद्ध छिन् ।
विद्यालय र शिक्षक पुरस्कृत
पुरस्कृत विद्यालयमा कान्ति माध्यमिक विद्यालय बुटवल र महाकवि देवकोटा मावि सुनवल नवलपरासी रहेका छन् भने उत्कृष्ट शिक्षकहरुमा सिद्धार्थनगरबाट रुपन्देही लिलाराम न्यौपाने माविका प्राचार्य गणेश भट्टराई, श्री रामनरेश यादव आदर्श नमूना माविका राम सुरेश वर्मा, सिक्टहन माविका दुधनाथ कवर, सुण्डी माविका सतिशचन्द्र त्रिपाठी, कृषक आदर्श माविका गिरीजा शंकर पाण्डे, भुल्के माविका दुर्गा साकोटा, नहरपुर माविका धनिश्वर गौतम, हरैया माविका मेघनाथ शर्मा, बसन्तपुर दशरथ जनता माविका राजमहेन्द्र राय, तेनुहवा सामुदायिक माविका मोहम्मद इलियास मुसलमान, जोगडा माविका राजेश्वर निषाद, रामापुर माविका अम्बिका ज्ञवाली, पब्लिक माविका डिलाराम खनाल र फर्साटिकर माविका केशवराज आचार्य रहेका छन । त्यस्तै नवलपरासीबाट नवजीवन माविका अर्जुन पौडेल, महाकवि देवकोटा माविका खेमलाल जोशी शर्मा, जनता माविका दीपक भट्टराई र सुबंशी कन्या आधारभूत विद्यालयका विरेन्द्र प्रसाद कुर्मी उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij