२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

युसीएमएसद्वारा १७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

मंगलवार , आषाढ २९, २०७८

भैरहवा, २९ असार ।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस)ले कक्षा १० मा अध्ययनरत १० जना विद्यार्थी तथा प्लस टु तहका ७ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । युसीएमएसले (प्रतिविद्यार्थी) प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ७ हजार नगद तथा मेडल प्रदान गरेको हो ।

युसीएमएस व्यवस्थापनले सामाजिक उत्तरदायित्व अन्तर्गत विगत वर्ष २००९ सालदेखि निरन्तर रुपमा संस्थामा कार्यरत कर्मचारीहरुको कक्षा १० र प्लस टु तहमा अध्ययन गर्ने उत्कृष्ट जेहेन्दार सन्तानहरुलाई छात्रवृत्ति अन्तर्गत नगद तथा मेडलद्धारा सम्मान गर्दै आइरहेको संस्थाका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए ।

कक्षा १० मा उत्कृष्ट अंक ल्याएर सम्मान हुने विद्यार्थीहरुमा ऐश्वर्या शंकर, स्वदेश कुमार यादव, अमिसा राना, दिपाली राना, निकिल कुमार यादव, सुरुची सिंह, देवी प्रसाद मिश्रा, प्रिया बन्जाडे, पवन कुमार मिश्रा, गौरव पौडेल रहेका छन् । त्यस्तै प्लस टु तहका गणेश पौडेल, अनुज क्षेत्री, नैतिक ढकाल, ऐश्वर्या शंकर, अन्जिला राना मगर, स्वदेश कुमार यादव र दिपाली राना रहेका छन् । विगत ४ वर्षका अव्वल छात्र–छात्राहरुलाई सोमबार एक कार्यक्रमका बीच युसीएमएसले छात्रवृत्ति प्रदान गरेको हो ।

कार्यक्रममा युसीएमयस शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस., प्राचार्य प्रा.डा.लक्ष्मी पाठक, मेडिकल सुपरिन्टेण्डेण्ट प्रा.डा.साधन मुखी, प्रमुख प्रशासकीय अधिकृत कमलराज ढकाल, जनरल म्यानेजर सन्तोष कुमार वी.एन.लगायतले बोलेका थिए ।

हालसम्म युसीएमसले ४७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिसकेको जनाएको छ । वि.सं. २०५४ सालमा स्थापना भइ स्वास्थ्य सेवामा निजी क्षेत्रवाट सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेज अन्तर्राष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादनका साथै सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कटिबद्ध रहेको युसीएमएसले जनाएको छ ।