
मंगलवार , भाद्र १६, २०७७
रुपन्देही, १६ भदौ ।
मोहन ढेगा मगर एक शारीरिक अपांग र दृष्टिविहिन हुन् । गुल्मीको विखास स्थायी घर भएका उनी हाल बुटवलको एक अपांग आश्रममा बस्दै आएका छन् । गाउँमा अपांग भएर बस्दा निकै अपमानित हुन पुगेपछि २०७३ सालमा रुपन्देही आएका उनी आफ्नो पहलमा अपांग आश्रम बनाउन अग्रसर भएको र सो कार्य सफल भएको वताए ।
लुम्बिनी अनाथ तथा दृष्टिविहिन आश्रम नामक संस्था स्थापना गरेका अपांग ढेगा मगरसहित अध्यक्ष मिरा कुमारी खड्का क्षेत्री, लिला राम रोका मगर उपाध्यक्ष र सचिवमा उनी मगर छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ उजेलापुर (दानव नदी) किनारमा रहेको एक व्यक्तिको खाली रहेको कुखुराफर्ममा बस्दै आएका करिब ३० जना अपांग, दृृष्टिविहिन र अनाथ बालकहरु मासिक घरवहाल तिरेर बस्दै आएको लुम्बिनी अनाथ तथा दृष्टिविहिन आश्रमका सचिव मोहन ढेगा गमरले वताए । सडक र चोकमा वसेर गाउने, कोही घर–घरमा माग्न जाने, अगरबत्ती वनाउने र बाँसका मुढा बनाउने जस्ता कार्य गरी विक्री गरिएका सामानहरुबाट आएको पैसा र गाएर संकलन भएको पैसाले घरबहाल, स्वास्थ्य उपचार र अन्य खर्च चलाउन धौधौ भएका उक्त आश्रममा आश्रित अपांग, अनाथ र दृष्टिविहिनहरुलाई पछिल्लो समय कोरोना भाइरसका कारण जारी गरिएको लकडाउनले अवस्था निकै नाजुक भएको आश्रमका सचिव मगरले जनाए ।
लकडाउनले सबै क्षेत्र बन्द भएपछि गाउन, सामान विक्री गर्न नपाएका उनीहरुलाई अहिले घरधनीले घरबहाल मागि रहँदा कसरी तिर्ने भन्ने चिन्ताले सताएको आश्रमका उपाध्यक्ष लिलाराम रोका मगरले दुःखेसो पोखे । उनी भन्छन्, ‘राज्यले हामी जस्तालाई बस्नको व्यवस्था नगरेकाले आरामले बस्न नपाएको भन्दै, महिनाको खर्च कसरी जुटाउने भन्ने कुराले पिरोल्ने गरेको बताए । मासिक ६ हजार घरबहाल र विद्युत्, पानी गरी १० हजारसम्म तिर्नुपर्ने र अन्य धेरै जनाले आजीवन औषधी सेवन गर्नेहरु भएकाले उपचार लगायत खर्चको जोहो गर्न गाह्रो भएकाले विहानै कोही गाउन, कोही माग्न त कोही सामान बनाउनसंगै विक्रीका लागि हतासिदै गाउँगाउँ जाने उनीहरुको दैनिकी जस्तै बनेको र यति गर्दा पनि घरबहाल तिर्न लगायत खर्च जुटाउन सकस हुने गरेको बताएका छन् ।
कुनै संघ–संस्था र व्यक्तिहरुले कहिलेकाही खाद्यान्न सहयोग गर्ने गरेको भए पनि धेरै जना भएकाले खाद्यान्नको लागि आर्थिक जुटाउनु पर्ने उनीहरुको भनाइ छ । आश्रममा अहिले १३ जना अनाथ, शारीरिक अपांग ७ जना र दृष्टिविहिन १० जना छन् । ब्लक ईट्टाले बनाइएको लामो कुखुरा फर्ममा वस्दै आएका ३० जना सुत्नलाई ८ वटा खाट छन् । भेडाबाख्रा झैं कोही खाटमा कोही भँुइमा सुत्ने गरेको बताइएको छ । साथै उनीहरुले आफुहरुको स्थायी वासस्थान र उचित व्यवस्थापनका लागि बुटवल उप–महानगरपालिकामा प्रस्तावना पेश गर्दा समेत कुनै सुनुवाई नभएको जनाउँदै, आफुहरुलाई राज्य भएको अनुभूति नभएको गुनासो गरेका छन् ।
मानवसेवा आश्रम बुटवललाई बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालन व्यवस्थापन तथा बहालको चालु आर्थिक वर्ष २०७६/७७ को लागि १० लाख, प्रदेश ५ सरकारबाट २५ लाख रुपैयाँ विनियोजन गरेकोे अवस्थामा यता अपांग तथा अनाथहरुले निकै दयनीय अवस्थामा दैनिकी बिताउन बाध्य छन् ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बुटवल उपमहानगरले व्यवस्थापनको लागि स्थान दिने कार्य नभएको प्रतिक्रिया दिएका छन् । उनले मानवसेवा आश्रमलाई ५ लाख दिएको वताए । यता मानवसेवा आश्रमले भने १० लाख दिएको मानवसेवा आश्रमकी प्रमुख सरु अधिकारीले बताएकी छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij