
सोमवार , आषाढ २१, २०७८
भैरहवा, २१ असार ।
लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले वर्ष २०२१/०२२ को कार्यक्रम आर्थिक अभावका कारण मृगौला उपचारमा समस्या परेका भैरहवा निवासी ४९ वर्षिय प्रविण कुमार परियारलाई ५१ हजार सहयोग गर्दै सुरुवात भएको छ । सि.न.पा.–९ स्थित भाग्यपथमा कोठा भाडामा लिई परिवारसहित बस्दै आएका परियारको केही महिना अगाडि मृगौलाले काम गर्न छाडेको थियो । मृगौलाले काम गर्न छाडेपछि उनले आफूसंग भएको सबै जायजेथा र रकम खर्चेर उपचार गराउदा समेत अहिलेसम्म निको हुन सकेको छैन । परियारलाई यतिबेला मृगौलाको डायालासिस र औषधि खरिद गर्न पनि हम्मेहम्मे परेपछि ईरफान वारिसको सक्रियता तथा संयोजनमा ग्रीन सिटीले आफ्ना सदस्यहरुले दिएको सहयोग रकम संकलन गरी हस्तान्तरण गरेको हो ।
वर्ष २०२१/०२२ का अध्यक्ष गोबिन्द प्रसाद गिरीको समाजको लागि संगसंगै भन्ने मूल नाराका साथ यस वर्ष भैरहवा ग्रीन सिटी सामाजिक अभियानमा होमिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका द्वितीय भाइस गभर्नर नवराज न्यौपानेले मानवीय सेवामा लायन्सहरुको भिडमा ग्रीन सिटीको काम उल्लेखनीय रहेको बताए । उनले भने, ‘स्थापनाको पहिलो वर्षमै मानवीय कार्यक्रम गरेकै कारण विभिन्न अवार्ड पाएको लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले यो वर्ष पनि महत्वपूर्ण काम गरेर गत वर्षझै रेकर्ड कायम गर्ने विश्वास लागेको छ । प्रविणको उपचारको लागि गरिएको यो सहयोगले औषधि उपचारमा सहयोग हुने विश्वास लागेको छ ।’
कार्यक्रममा स्थानीयवासी समेत रहेका लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका उपसचिव विजय पाण्डेले मानवीय सेवा भावले ओतप्रेत भएका सदस्यहरुको सहभागिता रहेको लायन्स कल्ब अफ भैरहवा ग्रीन सिटीले आर्थिक समस्याको कारण उपचार गराउन समस्या भएका प्रविणको घरमै पुगि सहयोग गर्नु उदाहरणीय काए भएको बताए । उनले भने, ‘ लायन्स क्लब भैरहवा ग्रीन सिटीको टिम यो असारे झरीको समयमा पनि बिरामीको घरमै पुगेर जुन सहयोग गरेको छ त्यो साँच्चिकै महत्वपूर्ण छ ।’
उनले ग्रीन सिटीको सदस्यहरुको उर्जा र उत्साहले लायन्स डिष्ट्रिकमा समेत हौसला सृजना गरेको बताए ।
वर्ष २०२१/०२२ का अध्यक्ष गोबिन्द प्रसाद गिरिले लायन्स सामूहिक भावले सञ्चालित हुने हुँदा क्लबले यस वर्ष समाजको लागि संगसंगै भन्ने थिम राखेको बताए । उनले भने, ‘हाम्रो गभर्नरले आफुलाई विश्वास गर्नुहोस् भन्नुभएको छ हामी विश्वासका साथ सामाजिक काम संगसंगै गरौ भनेका छौ । गभर्नर ज्युले भनेझै हरेक काम आत्मविश्वासका साथ सबैको साथ लिएर संगसंगै गरियो भने सफल हुन्छ भन्ने हाम्रो बुझाई हो । हामी सामाजिक सेवा म वा मेरो अगुवाइमा होईन हामी र हाम्रो अगुवाइमा सबै संगसंगै गर्न चाहन्छौ । यसैले हामीले नारा पनि समाजको लागि संगसंगै भन्ने तय गरेका हौं ।’
अध्यक्ष गिरीले लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी गत वर्ष क्यान्सर पीडित मनोज गिरीलाई सहयोग गरि ६६ जना संस्थापकसहित स्थापना भएको बताउँदै यस वर्षको पहिलो कार्यक्रम पनि आर्थिक अभावका कारण मृगौला उपचारमा रहेका परियारलाई सहयोग गर्दै सुरुवात गरिएको बताए ।
कार्यक्रम संयोजक इरफान वारिसले मानवीय सेवाले मानिसलाई खुशी र सुखी बनाउने बताउँदै दुवै खुट्टा नभएको एकजना महिलाले हुलाकीलाई चप्पल किनेर दिएको कथा सुनाएका थिए । उनले भने, ‘सामूहिक रुपमा गरिने सहयोग अर्थपूर्ण हुने भएकोले लायन्स ग्रीन सिटीले प्रविणको उपचारमा गरेको सहयोग महत्वपूर्ण रहेको छ । ’
ग्रीन सिटीका सचिव थानेश्वर पाण्डेको सञ्चालनमा पिडित परियारकै घरमा पुगेर सहयोग हस्तान्तरण गरिएको उक्त कार्यक्रममा सिद्धार्थनगर–९ का वडा सदस्य युवराज बराल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा आफ्नो वैवाहिक वर्षगाठको अवसरमा सुरज भण्डारी र शिरा रेग्मी भण्डारी दम्पतिले ५ हजार १ सय रुपैयाँ सहयोग समेत गरेका थिए । त्यसै गरी नवराज भण्डारिले जन्मदिनको अवसरमा पनि सहयोग गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij