
शनिवार , आषाढ १९, २०७८
भैरहवा, १९ असार ।
अन्तर्राष्ट्रिय सहकारी दिवस रुपन्देहीको सिद्धार्थनगरमा मनाइएको छ । सिद्धार्थनगर नगरपालिकाको आयोजना र राष्ट्रिय सहकारी बैक लिमिटेड भैरहवा शाखाको समन्वयमा अन्तरक्रिया कार्यक्रम गरी मनाइएको हो । कार्यक्रममा सिद्धार्थनगर नगरपालिका भित्रका सहकारीका अध्यक्ष तथा व्यवस्थापकहरुको सहभागिता रहेको थियो । सहकारीका समस्या तथा गर्नुपर्ने अबका कामका बारेमा छलफल भएको थियो ।
नगरपालिकाका उपप्रमुख उमा काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले नगरपालिकाले सहकारीलाई नीति तथा कार्यक्रममा सम्बोधन गरी अगाडी बढेको बताए । कार्यक्रममा आर्थिक विकास समिति संयोजक तथा सिद्धार्थनगर वडा नम्बर ३ का वडा अध्यक्ष थानेश्वर पौडेलले नगरभित्र रहेका सहकारी संस्थासंग समन्वय र सहकार्य गरेर अबका दिनमा अझ व्यवस्थित गरिने बताए । कार्यक्रममा सहकारी, पर्यटन, उद्योग तथा सामाजिक उपशाखा प्रमुख कमलकान्त खनालले सहकारीका नीति तथा भावी कार्यक्रमका बारेमा उल्लेख गरेका थिए ।
सो अवसरमा राष्ट्रिय सहकारी बैक लिमिटेड भैरहवा शाखाका प्रमुख आलोक शिवाकोटी, लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक राम प्रसाद बराल, अंकुर सहकारीका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, गौरन्वादितका लक्ष्मीप्रसाद अधिकारी, शुलभ सहकारीका अध्यक्ष राजेश खरेल, स्वस्तिक सहकारीका स्वर्णजित कंशाकार, उत्कृष्ट सहकारीका अध्यक्ष अनिल कुमार ज्ञवाली, उत्साहित सहकारीका व्यवस्थापक संगिता भण्डारी लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij