
शनिवार , आषाढ १९, २०७८
भैरहवा, १९ असार ।
बेलायतमा रहेका नेपालीहरुले रुपन्देहीमा रहेका गम्भिर बिरामीहरुलाई आर्थिक सहयोग गरेको छ । हाल बेलायतमा रहेका भैरहवाबासीहरुले पठाएको रकम रुपन्देहीका गम्भिर बिरामीहरुलाई सहयोग गरिएको हो । सिद्धार्थनगर भैरहवा परिवार–बेलायतद्वारा प्राप्त आर्थिक सहयोग रुपन्देहीका तीन गम्भिर बिरामी तथा बिरामीका परिवारलाई हस्तान्तरण गरिएको भैरहवाका स्थानीय समन्वकर्ता तथा युवा समाजसेवी ओम कुमार श्रेष्ठले बताए । सिद्धार्थ भैरहवा परिवार–बेलायतको संयोक शर्मिला हिराचनको नेतृत्वमा ४१ जना नेपालीबाट प्राप्त ४ लाख रुपैयाँमध्ये तीन जना बिरामीलाई जनही २५ हजार गरी ७५ हजार रुपैयाँ प्रदान गरिएको श्रेष्ठले जानकारी दिए ।
‘चार लाखमध्ये जेसीआई सिद्धार्थ, नेपालले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस)मा सञ्चालन गरेको निःशुल्क खाना वितरण कार्यक्रममा दुई दिनको खानाका लागि २४ हजार रुपैयाँ प्रदान गरेका थियौं, ’उनले भने । बाँकी रहेको रकम विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिने श्रेष्ठले जानकारी दिए । भैरहवामा बुद्ध मुर्तिसहितको पार्क बनाउने योजना रहेको र यसको लागि स्थानीय सरकार, सडक विभाग लगायतका निकायसंग समन्वय र सहकार्य भइरहेको उनको भनाइ छ ।
शनिबार भैरहवामा एक कार्यक्रमकाबीच बिरामी र बिरामीका आफन्तलाई रकम हस्तान्तरण गरिएको छ । कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–१ बेलहिया निवासी मृगौलीसम्बन्धि रोगबाट ग्रसित अर्जुन राना, पाठेघरको क्यान्सर भइ उपचार गराइरहेकी सिद्धार्थनगर–८ की मञ्जु राना र मृगौलीसम्बन्धि रोगबाट पीडित कञ्चन गाउँपालिका–५ की आयुषा पाण्डेको उपचारको लागि रकम हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल क्यान्सर सर्पोट गु्रपका केन्द्रीय उपाध्यक्ष दिलिप भट्टराईले सरकारले नागरिकको हकहितको लागि काम गर्न नसकेको बेला यहाँका स्थानीय र विदेशमा रहेका नेपालीहरुले सहयोग गरेको बताए । उनले कोभिड–१९ महामारीको विषम परिस्थितिमा पनि सरकारले नागरिकको लागि काम गर्न नसकेको बताए ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक डेपुटी सेक्रेटरी सचिव विजय पाण्डेले राम्रो कामको सुरुवात भएको बताए । उनले विभिन्न समयमा हुने यस्ता कार्यले समाजमा सकारात्मक सन्देश जाने बताए । लायन्स क्लब अफ बोहिमियन्सका अध्यक्ष किृतेश कुमार श्रेष्ठले पार्कको बारेमा छलफल भइरहेको बताए ।
लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष नरेश के.सी.ले सामाजिक रुपान्तरण र यस क्षेत्रको विकासको लागि मिडिया जगतले एकढिक्का भएर सहयोग गर्ने बताए । उनले विपन्न परिवारको उपचारका लागि विभिन्न सामाजिक संघ–संस्थाको सहकार्यमा नागरिक उपचार कोष स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए । पत्रकार मनोरञ्जन शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij