२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

फाइबर केबल काटिँदा इन्टरनेटमा समस्या

शुक्रवार , आषाढ १८, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • नवलपुर, १८ असार ।

    इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले नलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न स्थानमा जडान गरेको फाइबर केबल तथा पोलमा राखेको सामान चोरी हुँदा इन्टरनेटमा समस्या आएको छ । वल्र्डलिंकले जडान गरेका सामान चोरी हुने तथा क्षति पुर्याउने क्रम बढेपछि सेवालाई गुणस्तरीय बनाइराख्न दोषी पत्ता लगाएर कानूनी कारवाहीसहित क्षतिपूर्तिका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको वल्र्डलिंकका कावासोती शाखा प्रमुख आकाश केसीले जानकारी दिए ।

    वल्र्डलिंकले सस्तो शुल्कमा गुणस्तरीय सेवा प्रदान गरिरहेको सन्दर्भमा अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीले प्रतिस्पर्धा गर्न नसकेर आपराधिक बाटो प्रयोग गरी वल्र्डलिंकको नाम बदनाम गर्न खोजेका कारण कानूनी उपचार खोजिएको केसीको भनाइ छ । केसीले केही समयदेखि यस क्षेत्रमा अन्य स्थानीय इन्टरनेट सेवा प्रदायक कम्पनीबाट दैनिकजस्तो फाइबर केबल काट्ने तथा पोलहरूमा राखिएको सामान चोरी गर्ने क्रम बढेको जानकारी दिनुभयो ।

    वल्र्डलिंकलाई बदनाम गराउन खोज्नेले दुई दिनअघि मात्रै पनि रातिको समयमा चोरमारादेखि अरुणखोलाबीचको खण्ड, डण्डा र रजहर गरी चार ठाउँमा तार काटिदिएका केसीले बताए । अस्वस्थ्य प्रतिष्पर्धा गर्नेले तार काटिदिएका कारण बेलाबेलामा उपभोक्ता यसको मारमा पर्ने गरेका केसीको भनाइ थियो । पछिल्लो समय इन्टरनेटको पहुँचमा जाने सेवाग्राही बढ्दै गएको सन्दर्भमा वल्र्डलिंकसंग प्रतिस्पर्धा गर्न नसकेपछि अन्य स्थानीय इन्टरनेट प्रदायकले गलत बाटो प्रयोग गरेका केसीले आरोप लगाए । व्यापार, व्यवसाय, शिक्षादेखि सबै क्षेत्रमा इन्टरनेटको प्रयोग आइरहेको छ । नेपालमा झण्डै ८९ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा पुगिसकेका केसीको भनाइ छ । रासस