
बुधवार , आषाढ १६, २०७८
बुटवल, १६ असार ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले आफनो २३ औं स्थापना दिवस रचनात्मक कार्य गरी मनाएको छ । कोरोना कहरले थला परेका पर्यटन व्यवसायीले आफनो व्यवसायिक संस्थाको स्थापना दिवसलाई विभिन्न रचनात्मक काम गरी मनाएका हुन । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले स्थापना दिवसको अवसरमा रक्तदान, कोभिड अस्पतालमा रहेका बिरामी तथा स्वास्थ्यकर्मीलाई खाना खुवाएर र व्यवसायी रामु सापकोटाको छोरीको उपचारका लागि आर्थिक रकम ४४ हजार २ सय रुपैयां प्रदान गरी मनाएको छ । संघले मंगलबार बुटवलमा आयोजना गरेको रक्तदानमा ४५ जनाले रत्तदान गरेको संयोजक रामु न्यौपानेले बताए ।
त्यस्तै शुद्धोधन गाउंपालिकाको मोतीपुर स्वास्थ्य केन्द्रको कोभिड अस्पतालमा १ सय ५० जनालाई खाना खुवाएको कार्यक्रम संयोजक केशव कंडेलले बताए । सोही समारोहमा होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले युग अनुसार चल्नका लागि व्यवसायीले आफुनो पेशालाई परिमार्जन गर्न जरुरी रहेको औल्याएका छन् ।नेपालले पर्यटन व्यवसायी स्वागत, सत्कार गर्ने पेशा भएको र पर्यटनको माध्यमवाट मुलुकको विकास गर्न सकिन्छ भनेर लागेकाहरुको ह्दय विशाल हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा महासंघका सह–कोषाध्यक्ष मोदनाथ वेल्वासेले पाल्पाको पर्यटकीय क्षेत्र नुवाकोटमा संघले संचालन गर्ने भनी ५ वर्ष पहिले पर्यटन सूचना केन्द्रको नाममा बोर्ड स्थापना गरिएको मा हालसम्म त्यसबारे थप प्रगति हुन नसकेकोमा चिन्ता व्यक्त गदै पर्यटन सूचना केन्द स्थापनामा गम्भिर हुन माग गरेका छन् ।
कार्यक्रममा संघका अध्यक्ष राम प्रसाद गौतमले कोरोना कहरले व्यवसायीले भोग्नु परेका समस्याका वारेमा सरकारले केही सम्बोधन गरे पनि प्रक्रिया झन्झटिलो हुनाले सेवा लिन समस्या हुने गरेको धारणा राखेका थिए।
कार्यक्रममा होटल व्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ संघका निवर्तमान अध्यक्ष समुन्द्र जिसी, प्रथम उपाध्यक्ष लेखनाथ भण्डारी, राधा थापालगाएतले संघले व्यवसायीले भोग्नु परेका विविध समस्याका सवालमा सरोकारवाला निकायसंग पहल गर्न माग गरेको महासचिव माधवकुमार खनालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij