
मंगलवार , आषाढ १५, २०७८
भैरहवा, १५ असार ।
तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित वनवाटिकामा यस क्षेत्रको लागि नयाँ ई-लर्निङ एण्ड साइन्स थिएटर स्थापना भएको छ । रोटरी क्लब अफ बुटवलले तिलोत्तमा नगरपालिका र शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रसंगको सहकार्यमा निर्माण गरेको थिएटरको नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गरेका छन् ।
विशेष गरी विद्यार्थीहरुका लागि बढी उपयोगी मानिएको ई-लर्निङ एण्ड साइन्स थिएटरले नयाँ प्रविधिप्रति युवाहरुको आकर्षण थप बढाउने भएको छ । करिब १६ फूटको लम्बाई र झण्डै ९ फूट चौडाइको स्क्रिनिङ रहेको प्रोजेक्टमा ठूलाठूला सेमिनार, गोष्ठी, तालिमहरु सञ्चालन गर्न, विभिन्न खेलकूद प्रतियोगिताहरु अवलोकन गर्न र समग्र पृथ्वीको बारेमा समेत प्रविधिको माध्यमबाट अध्ययन अवलोकन गर्न उपयोगी हुनेछ । क्लबले यो प्रविधि चीनबाट भित्र्याएको हो ।
क्लबका अध्यक्ष सुनिल श्रेष्ठले करिब ४५ लाखको लागतमा यो प्रोजेक्ट स्थापना भएको बताए । आफ्नो कार्यकालमा ४ वटा महत्वपूर्ण प्रोजेक्ट अगाडि सारेकोमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापना गर्ने भनिएको क्यान्सर स्क्रिनिंग सेन्टर र ब्लड कलेक्शन मोवबाइल भ्यान छिटै नै सञ्चालनमा आउने पनि उनले बताए ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरप्रमुख घिमिरेले यसले युवा पुस्तामा नयाँ प्रविधिको समेत विकासमा सघाउ पुर्याउने भन्दै यसको सञ्चालनको लागि आगामी दिनमा नगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको बताए । क्लबका एजी राजेन्द्र लम्सालले यसको स्थापनाले वनवाटिका प्रविधिमैत्री केन्द्र बनेको पनि उनले बताए । क्लबका पूर्व अध्यक्ष एवं वर्ष २०२३–२४ का डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले ई-लर्निङ एण्ड साइन्स थिएटरको स्थापनाले प्रतिकूल अवस्थामा रहेको पर्यटन क्षेत्रलाई पनि चलायमान बनाउन सघाउ पुर्याउने बताए ।
कार्यक्रममा क्लवका एजी खिमानन्द भुसाल, शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष अध्यक्ष बेलप्रसाद शर्मा, क्लबका सचिव रोम शर्मा, कोषाध्यक्ष खेमनारायण पराजुली लगायतले ई-लर्निङ एण्ड साइन्स थिएटरको बारेमा आ–आफ्ना धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij